दशैं बिदा र अनुकूल मौसमले सौराहामा पर्यटकको चहलपहल बढ्यो

डिसी नेपाल
१० कार्तिक २०८३ १२:३१

चितवन। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा दसैँ बिदा र अनुकूल मौसमका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ।

बाढीपहिरो र सडक अवरुद्धताका कारण केही महिना सुस्ताएको यहाँको पर्यटन व्यवसाय पछिल्लो समय एकाएक फस्टाएपछि व्यवसायीहरू उत्साहित बनेका छन्।

पर्यटन व्यवसायी गोकर्ण गिरीका अनुसार पर्यटकको आगमनसँगै होटल तथा रेस्टुरेन्टहरूमा व्यस्तता ह्वात्तै बढेको छ। सपिङ, जङ्गल सफारी र घुमफिरमा पर्यटकहरूको चहलपहल देखिँदा व्यवसायीहरूको मुहारमा खुसी फर्किएको उनले बताए।

त्यस्तै वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाले दशैंको टीकापछिका दिनहरूमा रिसोर्टका सबै कोठाहरू भरिभराउ भएको र पाहुनालाई कोठा पुर्‍याउन मुस्किल परिरहेको जानकारी दिए। चाडपर्वको समयमा विशेष गरी नेपाली आन्तरिक पर्यटकहरूको बाहुल्य रहेको उनले स्पष्ट पारे।

पर्यटन व्यवसायी ऋषि तिवारीले गत वर्षको तुलनामा यसपटक दसैँपछिको समयमा पर्यटकको चाप राम्रो रहेको बताए। सौराहा आउने पर्यटकका लागि जीप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुङ्गा सयर तथा थारू सांस्कृतिक नाच मुख्य आकर्षणका रूपमा रहेका छन्।

क्षेत्रीय होटल संघ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले प्राकृतिक विपत्तिका कारण यो वर्ष पर्यटनको मुख्य सिजन सुरु हुन करिब एक महिना ढिलाइ भए पनि अहिले आन्तरिक र बाह्य दुवै पर्यटकको सङ्ख्या बढ्नाले ठूलो राहत मिलेको बताए। चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार मानिने सौराहामा सडकको अवस्था सुध्रिएसँगै पर्यटन व्यवसायले पुन: गति लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *