पातालः सचेतनाको आख्यान

पेशल पोख्रेल
२७ वैशाख २०८३ १०:५८

लेखनका दृष्टिले साहित्यमा सर्वाधिक गाह्रो विधा हो, उपन्यास। सानोतिनो मेहनत, थोरै साधनाबाट यो सम्भव हुँदैन।

पात्र, चरित्र, कथावस्तुदेखि अन्य धेरै पक्षको संयोजन गरेर सानो कथा लेख्न त निकै गाह्रो हुन्छ भने सिङ्गो उपन्यास लेख्नु विद्यावारिधिको अनुसन्धान सम्पन्न गर्नु सरह हो। यद्यपि सबै आख्यान गुणवत्ताका हिसाबले अब्बल नमानिएलान्।

यस्तो गाह्रो काममा हात हालेर सम्पन्न गर्नु नै ठूलो कुरा हो।

कथा फूलजस्तै हो र उपन्यास थुङ्गैथुङ्गा गाँसिएको एउटा माला। त्यो माला उन्न विशेष सीप चाहिन्छ। मैले पदम विश्वकर्माको उपन्यास ‘पाताल’मा त्यो सीप पोखिएको देखें।
यो उपन्यासमा मलाई सबैभन्दा मन परेको पक्ष हो-यसका छोटाछरिता वाक्य। गद्य लेखनमा जति छरिता वाक्य हुन्छन्, उति पठनीय–सम्प्रेषणीय मानिन्छ। यसमा आदिदेखि अन्त्यसम्म छरिता वाक्यको प्रवाह छ।

कथावाचनमा आञ्चलिकताको मिठास भेट्न सकिन्छ। पात्रहरूले आफ्ना आधारभूमि सम्झिएका छन्। र, सम्वादमा त्यसका केही झिल्काझिल्की भेट्न सकिन्छ। त्यसरी यदाकदा आएका रहेच, पाएच, थियम्, मरिन्च कि, के मात्र अरेनन्, अर्नुसम्म अरे जस्ता स्थानीय लवज पुस्तकभरि नै आइदिएका भए प्रस्तुति अझ स्वादिलो हुने थियो।

त्यो पनि कथाका मूलपात्रको आधारभूमि नेपालको रुकुमतिरकै (मगराततिरकै) ठेट शैलीमा आइदिएको भए झनै प्रभावकारी हुने थियो भन्ने पाठकलाई लाग्न सक्छ।

तर साहित्यका हरेक विधामा लेखकको आफ्नो शैली हुन्छ, स्वतन्त्रता हुन्छ। कथालाई मनखुसी भाँच्ने, बङ्ग्याउने, सुम्सुम्याउने, आरोह-अवरोहका भञ्ज्याङ ठड्याउने आ–आफ्नै शिल्प, तरिका हुन्छ। प्रयोगको तरेली लेखकीय स्वतन्त्रताको परिचायक पनि हो। यसमा पनि उपन्यासकारको आफ्नो शैली देखिन्छ।

अमेरिका आउने चोरबाटो र त्यसले निम्त्याउने परिणाममा आधारित यो उपन्यास बाटाकै कुरामा चाहिँ अलि दौडेको छ। दलालहरूको संयोजनमा भएका पटक-पटकका हवाई यात्रा फुत्तफुत्त आउँछन् र धेरै विवरण नदिई फुत्तै हराउँछन्। पाठकहरूलाई यस्ता अनपेक्षित यात्राका अफ्ठ्यारा, उल्झनहरूबारे अझै बिस्तारमा आइदिए हुन्थ्यो भन्ने हुँदो रहेछ।

कोलम्बियापछिको क्याराभान-यात्रा भने पाठकीय अपेक्षाअनुसार नै बिस्तारमा आएको छ। र, पोखिएका छन् हण्डरठक्कर, अनेकौं त्रासदीय घटनाका मुटु हल्लाउने विवरण।

उपन्यासको एउटा उल्लेख्य अंश हो-पनामाको जङ्गल र त्यहाँका पीडादायी यात्रा। त्यो ठाउँ ‘डेरियन ग्याप’का रुपमा विख्यात र कुख्यात दुबै छ। तर, उपन्यासमा त्यो नाम कतै उल्लेख छैन। भएको भए कथाले अरु आधिकारिकता पाउने थियो।

उपन्यासको पछिल्लो खण्ड पढेपछि पाठकलाई लाग्छ, यो एउटा ‘मिशन-आख्यान’ हो। विसङ्गतिको पहाड देखाएर तल्लो बाटोबाट अमेरिका आउन खोज्ने आप्रवासीहरूलाई तर्साउने ‘मिशन’। त्यसलाई ‘सचेत बनाउने, चनाखो बनाउने अभियान’ भने पनि हुन्छ।

सम्भवतः त्यसैले होला, कथामा विसङ्गतिका पहाड देखाइएको छ। कतै कतै त लाग्छ, अमेरिका विसङ्गति नै विसङ्गतिको दलदल हो। र, त्यसलाई पुष्टि गर्न नयाँ नयाँ पात्र, नयाँ नयाँ सन्दर्भ उभ्याइएका छन्।

पाठकले सजिलै थाहा पाउने अर्को कुरा हो-पात्रहरूको काँध चढेर लेखक आफैं बोल्दैछन्। अमेरिकी समाज, यहाँ देखिने समस्या र विसङ्गतिका बारेका आफ्ना धारणा, मूल्यांकन कोरल्दैछन्।

कुनै सामाजिक अभियन्ताको प्रवचनजस्तो लाग्ने सन्दर्भहरू पनि छन् उपन्यासमा। लक्ष्य नै बाटोका दर्दनाक चित्र र यताका विसङ्गति देखाएर तर्साउनु, तल्लो बाटोको जोखिम मोल्न खोज्नेहरूलाई सचेत बनाउनु भएकाले ती कुरा पनि धेरै अस्वाभाविक लाग्दैनन्।

साहित्यिक सिर्जना लेखकका सम्पत्ति हुन्। तिनलाई कसरी प्रस्तुत गर्ने, लेखकीय स्वतन्त्रताको कुरा हो। तैपनि, पाठकका अपेक्षाको आफ्नै महत्त्व हुन्छ। गुनासो गर्नु र यहाँ यस्तो भइदिए अझ गज्जब हुन्थ्यो भन्नु पाठकको अधिकार पनि हो। त्यस्तै पाठकका नाताले केही दुखेसो गर्ने ठाउँ मैले भेटेको छु। एउटा गुनासो हो-शब्दचयनबारे।

‘भाउजू’ उपशीर्षकमा एउटा अनुच्छेद रहेछ, ‘अपुष्ट र असान्दर्भिक खबरहरू हल्लाका रुपमा चल्थे। त्यस्ता खबरहरूले बाआमालाई मात्र आह्लादित पार्दैनथ्यो, भाउजूको मुटुलाई टुक्राटुक्रा पारिदिन्थ्यो।’ त्यहाँ ‘आह्लादित’ शब्दको सही प्रयोग भएन। लेखकहरू यस्ता कुरामा पनि सचेत हुनुपर्छ भन्ने मेरो आग्रह हो।
पुनरुक्ति र अतिरञ्जनाका कुराले पनि कहिलेकाहीँ पाठकलाई पिरोल्छन्। अघिल्लो शीर्षकमा आइसकेका कुरा पछिल्लो पाठमा सम्झनाका रुपमा फेरि आउँदा पाठक अल्मलिन सक्छन्।

मूल पात्र कर्म बोलिरहेकै ठाउँमा बीचबीचमा दोस्रो पात्र करुणको बोली घुसाइदिएर उपन्यासकारले पाठकलाई ‘को बोलिरहको छ अलि गहिरिएर पढ्नुस् है’ भनेर अतिरिक्त गृहकार्य दिएकोजस्तो पनि लाग्छ, कतैकतै।

कर्म पहिलोपल्ट काठमाडौं आइपुग्छ र एकैपल्ट देख्छ-जुलुस, लाठीचार्ज, अश्रुग्याँस, जिन्दावाद, मूर्दावाद, लुटेरा, डाँका, डकैती, वेश्यावृत्ति। अनि, कुनै वेला विद्रोही शिविरमा प्रशिक्षण पाएको त्यही पात्र जहाज चढ्नासाथ कोशी सम्झन्छ, गण्डकी सम्झन्छ, महाकाली सम्झन्छ, सन् १९५० को सन्धि सम्झन्छ र देशलाई ‘टिक्नै नसकिने दलदल’का रूपमा अनुभूत गर्छ।

कथालाई रोचक बनाउन यस्ता अतिरञ्जनाहरू आवश्यक हुन सक्छन्। यहाँ पनि कथालाई आफ्नै ढंगले प्रस्तुत गर्ने लेखकीय स्वतन्त्रताकै कुरालाई सम्झनुपर्ने हुन्छ।
भूमिकामा कृष्ण धरावासीले भन्नुभएको छ, ‘उपन्यासले बोकेको कथा एउटा निको नहुने घाउको पाप्रोजस्तो दुःखदायी छ।’

यस्तै दुःखको भेलमा उछिट्टिएर मेक्सिको आइपुगेको एउटा पात्रले पाठकका रूपमा मलाई अत्यन्तै छोयो। नाम हो-भक्तबहादुर थापा। ऊ सडकमा छ। बेसहारा छ। कलिलो उमेरमै विरूप देखिन्छ। पढ्दापढ्दै उसको आवाजले भित्रैसम्म छोयो र मैले उसका भावना, शब्दलाई थोरै रुपान्तर गरें।
सम्भवतः उसको दशाले यसै भनिरहेको थियो-
‘दाजु,

मेरो रूपरङ्ग देखेर नतर्सिनू है
नछोप्नू आँखा, नथुन्नू नाक
बरु एकैछिन सँगै बसिदिनू र छाम्न दिनू सामीप्यको न्यानो
एकैछिन रुँगिदिनू मेरा पोकापन्तरा
त्यहीँ कतै धुजाधुजा होलान् मेरो नागरिकता र तस्बिर
र, अन्तरकुन्तरमै कतै होला मलाई जिउँदै राख्ने धूलो
त्यो तिमीलाई गन्हायो होला
तर म त्यहीँ, त्यसैमा भेट्छु सुगन्ध
मेरो त जीवनको लय नै यही, गति नै यही
दाजु,

मलाई भुँइमै निस्फिक्री निदाउन देऊ
म सपनामा आज पनि मेरी पार्वती भेट्न चाहन्छु।’

उपन्यासले यस्ता सयौं पात्रको कथा बोलेको छ। कतिपय पात्रमा पाठकले आफैंलाई पाउन सक्छन् र अनुभूत गर्न सक्छन् आफूले देखिरहेको आफ्नै परिवेशको कथा। त्यो दृष्टिले पनि उपन्यास पठनीय लाग्यो।

सम्भवतः तारानाथ शर्माले ‘पाताल–प्रवास’ लेख्नुभएपछि नेपाली साहित्यमा ‘पाताल’ शब्दको सघन प्रयोग शुरु भयो। अहिले पदम विश्वकर्माको उपन्यासको शीर्षक बनेर यो शब्द फेरि साहित्यमा आएको छ- बिम्बका रूपमा, प्रतीकका रूपमा। कथाले त्यसलाई सार्थक बनाएको छ।

नेपालमा बसेर अमेरिकालाई पृथ्वीको अर्को गोलार्ध वा निकै परको भूखण्डका रूपमा ‘पाताल’ भन्न सजिलै सकिएला। तर, पातालको भौगोलिक अर्थ मात्र हुँदैन। मिथक, पुराणहरूमा प्रयोग भएको यो शब्दलाई नकारात्मक बिम्बका रूपमा पनि लिइन्छ।

त्यो पृष्ठभूमिमा अमेरिकामा बसेर यसैलाई ‘पाताल’ लेख्नु कति उपयुक्त होला ? भूगोलका दृष्टिले अमेरिकाबाट देखिने पाताल नेपाल, अष्ट्रेलिया, ब्राजिल, अर्जेन्टिना त पक्कै नहोलान्। त्यसैले आउँदा दिनमा लेखकहरूले ‘पाताल’ शब्द चलाउनुअघि थोरै विमर्श गरून् भन्ने मेरो आग्रह हो।

मोरिसभिल, नर्थ क्यारोलाइना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *