लघुकथा : गुगल म्याप

लौ ! आयो आयो ।
पानी आयो,पानी ! पिउनुहोस्, लिनुहोस् लिनुहोस्।

मकै, काक्रा,फलफुल, चिप्स बेच्नेको तछाडमछाड अझ बेग्लै थियो।

अर्को करायो, “लिनुहोस् लिनुहोस्,मौकाको फाइदा उठाउँनुहोस् ।फेरि छुट्नुहोला नि !”

गाडीको हर्न, ट्राफिक जाम, साइरन एकैसाथ गुञ्जिएको थियो। पैदल यात्री जेब्राक्रसिङबाट बाटो काट्दै थिए त कोही ट्राफिक लाइटमा नजर दौडाइ रहेको प्रष्टै देखिन्थे।

व्यापारीहरू व्यापारमा व्यस्त थिए ।गाडीभित्र के खानु हुन्छ ? ल, लिनुहोस् भन्ने दृष्य पनि कम्ता रोचक थिएन। चारैतिर भिडभाड, कोलाहल, माहोल व्यस्त छ। कसैलाई को, कहाँ, के, भन्ने जानकार छैन र पनि परिदृष्य रमाइलो छ तर फुर्सद भने कसैलाई छैन ?

गाडीले हर्न बजायो, सह-चालकले हात उठाउँदै सोधे, “कहाँ जाने, प्रश्न गरे अनि आफैँ भन्दै थिए। नयाँ बानेश्वर, टेकु, कालीमाटी, त्रिपुरेश्वर, कलंकी, थानकोट कहाँ हँ ?” उनी नजर घुमाउँदै बोले।

म खिस्स हाँसे, टाउको हल्लाए र मौनता साँधेँ। मेरो गन्तव्य फरक थियो, बहस गरिनँ, सरासर बाटो लागेँ।

म अन्योलमा परिनँ, नयाँ परिवेश भएकाले गुगल म्यापलाई साथी बनाएँ, “समयको पावन्दीलाई हेर्दे कहाँ जाने, अनि के गर्ने ? भनि समय व्यवस्थापनमा लागेँ। निर्धारित समयमा नै काम सकेँ।”

व्यस्त सहर, अपरिचित अनुहार, अन्योलको वातावरण बिचमा रोमाञ्च हुँदै मेरो अन्तर्मनले भन्यो, “आज गुगल म्याप नहुँदो हो त समय अनि कामको सहजता कसरी हुँदो हो ? धन्यवाद गुगुल !” म मनमनै मुस्कुराएँ।

लघुकथा : ढलिमली

“७२ सालको भूकम्पमा भन्दा बढी भौतिक संरचनाको क्षति नहोला भन्न सकिन्न।” चर्को आवाज आयो।

पसपार्कमा गफ्फिएका छन्। गन्तव्य फरक छ, गाडीको प्रतिक्षामा रहेका बेला देश काल परिस्थिति सापेक्ष पहिलोले व्यङ्ग कस्यो, “डोजर चलेको चल्यै छ, कस्तो अचम्म ! मौकामा चौका हानेर हुन्छ ? खाली जग्गा देख्नै नहुने, पहुँचवालाहरूले शक्तिको आँडमा मिचिहाल्ने प्रवृत्तिको जे होस् अब अन्त्य होला जस्तो छ। पिओर हो भने दया देखाउँने ठाउँ थियो तर यहाँ त मामाको धनमा फुपूको श्राद्ध भएको रहेछ।”

दोस्रोले सही थाप्यो, “त्यहीँ त, त्यत्रा आलिसान महल कसरी बनाएका अव्यवस्थित अनि मापदन विपरीत ? सरकारले फाल्ला भन्ने डर पनि छैन। निडर हुन् है, मान्छे।” ऊ चकित हुँदै नजर उठाएर बोल्यो।

अपरिचित भए पनि कुरो मिलेको छ। प्रसङ्गमा उपस्थित सबैले आआफ्नो तर्क बेजोडले राखेका छन्। मतमतान्तर भयो, विचारको द्वन्द्व माझिएको छ। सुन्नेले पनि उत्सुकता दिएका छन्, सबैका कान ठाडा छन्। विषय अझ रोचक बन्न पुग्यो।

प्रतिक्षालय खचाखच भरियो, भिड जम्मा छ। एकपछि अर्को तर्क मनन योग्य छ। सबैका नजर आपसमा दौडिएका छन् ।लाग्छ, न्यायलय नै त्यहीँ छ जस्तो।

त्यतिकैमा सबै सुनिरहेको तेस्रो प्वाक बोल्यो, “अतिशय लालच पनि दु:खको कारण बन्छ, सुकुम्बासीको नाममा हुकुम्बासीको रजाइँ, के टिक्यो त ?” उसले यथार्थता बतायो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *