मैले चिनेको ज्ञानेन्द्र विवश

तुलसी दिवस
३० वैशाख २०८३ ११:२९

स्मृतिहरूको आफ्नै उज्यालो हुन्छ। समयले धेरै कुरा बदले पनि स्मृतिमा बसेका केही अनुहार र क्षणहरू भने कहिल्यै पुराना हुँदैनन्। जब म विगतका ती दिनहरू सम्झन्छु, मनको कुनै कुनामा एउटा सरल, सोझो र जिज्ञासु युवकको आकृति प्रकट हुन्छ। त्यो युवक थियो- ‘ज्ञानेन्द्र विवश’।

आज सबैले चिनेको, साहित्यिक क्षेत्रमा परिचित बनेको ज्ञानेन्द्र विवशलाई देख्दा कहिलेकाहीँ मलाई लाग्छ- मैले चिनेको त्यो पुरानो विवश र आजको विवशबिच समयले ठूलो दूरी काटिसकेको छ । तर त्यो दूरी समयको हो, मनको होइन।

भाटभटेनीको मेरो पुरानो घरमा उनी पटकपटक आएको र उनले मेरा कुराहरू मन दिएर सुनेका क्षणहरू म अझै सम्झिन्छु। अनि चाकुपाटमा म बस्न थालेपछि यहाँ पनि उनी पटक-पटक आएका छन् । साथै मेरा साहित्यिक यात्राका विविध पक्षमा चाख मानेर कुराहरू सुन्ने र बुझ्ने गरेका छन्।

त्यो बेला उनी गाउँको एउटा साधारण केटो जस्तो लाग्थ्यो तर आँखामा चमक थियो, केही जानौँ, केही बुझौँ, केही सिकौँ भन्ने उनको मनमा अनेक प्रश्नहरू थिए। अनि उनको हृदयमा एउटा अनौठो तिर्खा थियो कसरी लेख्ने, कसलाई चिन्ने, कसरी साहित्यको संसार बुझ्ने ?

त्यही तिर्खाले उनलाई साहित्यकारका घरघर पुग्न पनि सिकायो होला। उनी अग्रज कवि-लेखकहरूलाई भेट्न धाउँथे। ढोकामा पुगेर नम्र स्वरमा कुरा सुरु गर्थे, अनि चुपचाप बसेर कुरा सुन्थे।

वास्तवमा उनी धेरै बोल्ने होइन चुपचाप सुन्ने मान्छे थिए। आजकालका जस्ता बोलिरहने होइन, बरु बुझिरहने। यही स्वभावले नै उनलाई र उनको प्रतिभालाई विकसित हुन, बढाउन, फैलाउन र सिर्जनशील हुन प्रेरित र प्रोत्साहित पार्‍यो होला भन्ने मलाई लाग्छ।

हामी जस्ता अग्रजसँग भेट्दा उनले प्रश्नहरू गर्थे-कहिले साहित्यका बारेमा, कहिले जीवनका बारेमा। उनको जिज्ञासा यति स्वाभाविक हुन्थ्यो कि कहिलेकाहीँ लाग्थ्यो, उनी कुनै औपचारिक भेटघाटका लागि होइन, बरु सिक्नकै लागि आएका विद्यार्थी हुन्। अनि हामी जस्ता मानिस उनलाई कुरा सुनाउँदा आफैँलाई गुरु जस्तो अनुभूति हुन्थ्यो।

उनको अर्को विशेषता थियो- लेख्ने बानी। उनी जसलाई भेट्थे, तिनका बारेमा केही न केही लेख्थे। फेरि अर्को व्यक्तिलाई भेट्थे, फेरि लेख्थे। मलाई याद छ-उनले २०५० सालतिरै मेरो बारेमा पनि ‘सुरुचि’ साप्ताहिकमा यौटा लेख लेखेका थिए। उनका पाइला मानौँ एउटा निरन्तर यात्रामा थिए-मानिसहरू चिन्ने, अनुभव सङ्कलन गर्ने र त्यसलाई शब्दमा उतार्ने यात्रामा।

त्यो यात्रा केवल भेटघाटको यात्रा थिएन, त्यो एउटा आत्मनिर्माणको यात्रा थियो। आज जब म लगभग तीस-पैंतीस वर्ष पछाडि फर्केर ती दिनहरू सम्झिन्छु, मनमा एउटा मीठो आश्चर्य जाग्छ।

त्यो जिज्ञासु युवक आज धेरैको चिनाजानीको मान्छे भएको छ। उनले साहित्यिक संसारमा आफ्नो पहिचान बनाएको मात्र छैन धेरैको माया र सम्मान पनि पाउँदै आएको छ।

तर सबैभन्दा खुसीको कुरा के छ भने- उनले आफ्नो जरा बिर्सिएका छैनन्। आज पनि उनी आफूभन्दा अग्रजहरूलाई आदर गर्छन्, सम्मान गर्छन्। त्यो नम्रता अझै पनि उनीभित्र जीवितै छ। मानौँ समयले उनको उचाइ बढायो, तर उनको शिरमा रहेको विनम्रता झन् झुकाएर राखेको छ।

आज पनि ऊ लेखिरहन्छ जागिरे जीवनमा व्यस्त छ। तर पनि कसरी फुर्सद निकाल्छ मलाई थाहा छैन। ऊ लेखिरहन्छ तर मैले पढ्ने फुर्सद भने पाएको छैन। केही पढेको छु। उनको लेखनमा उनको आफ्नोपन मैले पाएको छु।

म कहिलेकाहीँ सोच्छु-साहित्यमा ठूलो हुनु भनेको सिर्जनशील भएर धेरै लेख्नु मात्र होइन, बरु आफूभन्दा अघि हिँडेका पाइला चिनेर, तिनलाई सम्मान गरेर अगाडि बढ्नु पनि हो। ज्ञानेन्द्र विवशले त्यो पाठ राम्रोसँग सिकेको, बुझेको, बोलेको र लेखेको छ जस्तो मलाई लाग्छ।

त्यसैले आज जब म पुराना दिनहरूको ढोका खोलेर ती स्मृतिहरूलाई सम्झन्छु, मेरो मनमा एउटै भाव उठ्छ- त्यो दिनको जिज्ञासु ‘विवश’ आज धेरैको परिचित ‘विवश’ बनेको छ, तर उनको भित्री मनमा अझै पनि त्यो विद्यार्थी जीवित छ, जसले कहिल्यै सिक्न छोडेन।

मैले उनलाई मान्छे भेट्नु, लेख्नु र आफूलाई समाजमा चिन्न-चिनाउन हरतरहले कोसिस गर्छन् । तर यसरी लाग्दा आफूले लेख्ने कर्मको भाषिक शुद्धतामा पनि तिमीले आफूलाई सचेत, सजग र जिम्मेवार राखिराख्नुपर्छ भन्ने गरको छु। उनी यसमा सचेतै हुँदै होलान्।

हरेक कविलेखकले आफूलाई व्यक्त गर्दा होस् वा समाजमा आफू चिनिँदार चिनाउँदा आफ्ना हरेक शब्द, वाक्य, भावनाले कतै, कहीँ, कसैलाई कुनै किसिमको बाधाविरोध नपुर्‍याउनु त छँदै छ आफ्नो भाषामा पनि ह्रस्व, दीर्घ, कमा, एक बचन, बहुबचन तथा हरेक वाक्य गठनमा आफ्नैपनको मिठास दिन सक्नुपर्छ भनेर भन्ने गरेको र मेरा यी कुरालाई उनले गम्भीर भएरै आफूलाई सिर्जनशील पारिरहेका होलान्।

कोही व्यक्ति त्यत्तिकै, त्यसै हावामा सिर्जनशील हुँदैन, सिर्जनात्मक गति र गन्तव्यतिर दौडिँदैन। अतः उनको यो दौडाइ, यो सिर्जनशीलता र गहिरो किसिमको लेखनका कदमहरू पनि एउटा गतिशीलताको पहिचान बोकेर र पहिचान बनाएर हिँडेका छन् भन्ने म ठान्दछु। सायद यही कारणले, समयले उनलाई चिनाएको मात्र होइन, अझ प्रिय पनि बनाएको छ।

संयोगवश आज उनको बारेमा मैले लेख्दैछु। केही महिनाअघि उनी मेरो घर चाकुपाट आउँदा उनले आफ्ना निबन्ध संग्रह ‘सुन्दरीचोक’ र ‘अर्धकदको अवसान’ मलाई उपहार स्वरूप दिए। मैले त्यतिबेला उनलाई वचन दिएको थिएँ-तिम्रो अर्को निबन्ध संग्रहको भूमिका म लेख्छु।

समय बितेर गयो नभन्दै केही महिनापछि उनले मलाई ‘म्यासेज बक्स’ मा लेखेर पठाए- मेरो निबन्धको पाण्डुलिपि ‘इन्द्रेणी सौन्दर्य’ तयार भयो । हजुरको शुभकामना मन्तव्यको लागि पाण्डुलिपि लिएर म हजुरको घरमा आउँछु।

तर अफसोस उनको म्यासेज मैले पढिरहँदा म अमेरिकामा पुगिसकेको थिएँ। त्यहाँ केही समयको बसाइपछि म नेपाल फर्किँदा समाचारहरूमा देखेँ विवशको नयाँ निबन्ध संग्रह ‘इन्द्रेणी सौन्दर्य’ प्रकाशित भइसकेको छ। मैले यस बारेमा उनलाई कुनै गुनासो, दुखेसो केही पनि गरिनँ। म चुपचापै थिएँ।

एक्कासी उनले ‘म्यासेज बक्स’ मा अर्को म्यासेज पठाए- ‘हजुरले मलाई कसरी चिन्नुभएको छ, कुन रूपमा बुझ्नुभएको छ, मेरो सिर्जनात्मक पाटो व्यक्तिगत पाटोका बारेमा केही शब्द लेखिदिनु पर्‍यो। ‘ज्ञानगुनका कुरा’ पत्रिकाले एउटा अंक निकाल्न लागेकोले हजुरसँग अनुरोध गरेको भनेर!’

मैले यसो सोचेँ, सम्झेँ र विगततिर आफूलाई पुर्‍याएँ। उनलाई मैले कहिले चिनेँ, कसरी चिने? यी कस्ता व्यक्ति हुन्, के हुन्, को हुन्, के गर्छन्, कहाँ बस्छन्? आदि इत्यादि।

त्यसैको बेलीविस्तार हो यो!

चाकुपाट, ललितपुर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *