रुपन्देहीमा घाँटी रेटिएको अवस्थामा बालिका र महिलाको शव फेला

डिसी नेपाल
११ माघ २०७८ १९:२०

काठमाडौं । रुपन्देहीको पूर्वपश्चिम राजमार्गको छेउमा एक आमा छोरीको हत्या भएको छ । देवदह स्थित जंगलमा हत्या गरी फालेको अवस्थामा आमा छोरीको शव फेला परेको हो ।

मंगलबार देवदह नगरपालिका ९ स्थित घोडाहाको जंगलमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा बालिका र एक जना महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार पूर्वपश्चिम राजमार्गबाट करिब २५ मिटर भित्र जंगलमा महिला र बालिकाको शव स्थानीयले देखेपछि मंगलबार मन्ध्यान्ह १२ बजेतिर प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको स्थानमा तरकारी काट्ने चक्कु फेला परेको र घटनास्थल रगताम्मे रहेको पनि डिएसपी केसीले बताए ।

सोमबारतिर नै चक्कुले घाँटी रेटी हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शव भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

हत्या गरिएकी बालिका र महिला आमा छोरी हुन सक्ने प्रहरीको दाबी छ । मधेसी मुलको जस्तो देखिने महिला अन्दाजी ३२\३५ वर्षको र बालिका ६\७ वर्षको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

मंगलबार साँझसम्म दुवै जनाको सनाखत भने हुन सकेको छैन । शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्सपताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ । ‘शवको प्रकृति हेर्दा कोही कसैले हत्या गरेको देखिन्छ, पोष्टमार्टमको रिपार्ट आएपछि अझ खुल्नेछ प्रहरीले घट्नाको मुचुल्का उठाएर अनुसन्धान शुरु गरिसकेको छ’, इलाका प्रहरी कार्यालय वुटवलका डिएसपी केसीले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *