मेची भन्सारद्वारा आयल निगम र गोर्खा टी इस्टेट सम्मानित

डिसी नेपाल
१२ माघ २०७८ १७:०३

काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आज राजस्व सङ्कलनमा सहयोग पुर्‍याउने संस्था र उत्कृष्ट पाँच कर्मचारीलाई सम्मान गरेको छ ।

सबैभन्दा बढी चिया निकासी गर्ने इलामको गोर्खा टि इस्टेट प्रालि र पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगमलाई राजस्व सङ्कलनमा योगदान पुर्‍याएबापत सम्मान गरिएको छ । त्यसैगरी मेची भन्सार एजेन्ट सङ्घका नितम पौडेल, मेची भन्सार कार्यालयका लेखापाल लक्ष्मीबहादुर रामदान, नायब सुब्बा लक्ष्मीप्रसाद गुरागाईं, कम्प्युटर अपरेटर अरुणकुमार साह र कार्यालय सहयोगी जयबहादुर राई सम्मानित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले कदरपत्र र दोसल्लाले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा भन्सार विभागबाट सम्मानित कार्यालयका नायब सुब्बा प्रेम सुवाललाई समेत सम्मान गरिएको थियो ।प्रदेश नं १ सरकारको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भन्सार प्रमुख केशवप्रसाद ओलीले भन्सार गतिविधिको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना, झापा चेम्बर्स अफ कमर्सका कार्यबाहक अध्यक्ष ओम बिमली, मेची भन्सार एजेन्ट सङ्घका अध्यक्ष मोहन निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *