साउथ अस्ट्रेलियामा आगामी नोभेम्बर २८ मा ‘नेपाल फेस्टिभल’ आयोजना हुने, तयारी तीव्र
अस्ट्रेलिया। अस्ट्रेलियाको साउथ अस्ट्रेलिया राज्यको राजधानी एडिलेडमा आयोजना हुने प्रतिष्ठित ‘नेपाल फेस्टिभल २०२६’ को मिति र स्थान औपचारिक रूपमा तय भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषद्का संयोजक थिर गुरुङका अनुसार आगामी २८ नोभेम्बर २०२६ (शनिबार) का दिन एडिलेडस्थित प्रसिद्ध टोरेन्स परेड ग्राउन्डमा यो भव्य महोत्सव आयोजना गरिने भएको हो।
फेस्टिभलको मिति र स्थान निश्चित भएसँगै स्थानीय स्तरमा यसको पूर्वतयारीका कामहरूलाई तीव्रताका साथ अघि बढाइएको संयोजक गुरुङले जानकारी दिए।
उनले नेपाल महोत्सव सम्पूर्ण नेपाली समुदायको साझा उत्सव भएकाले यसलाई एउटा गौरवमय पर्वका रूपमा सफल बनाउन सम्पूर्ण स्थानीय नेपाली समुदायलाई विशेष आग्रह समेत गरेका छन्।
साउथ अष्ट्रेलियामा आयोजना हुने नेपाली समुदायका विभिन्न कार्यक्रमहरूमध्ये नेपाल महोत्सवलाई सबैभन्दा ठूलो र गरिमामय सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ।
यस वर्षको महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, परम्परागत नेपाली झाँकी, कला-संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने विभिन्न स्टलहरू मुख्य आकर्षणका रूपमा रहने एनआरएनए साउथ अस्ट्रेलियाका सहसंयोजक गणेश पराजुलीले बताए।
पराजुलीले महोत्सवको तयारी व्यापक रूपमा भइरहेको जानकारी दिँदै एडिलेड र आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई फेस्टिभलमा उत्साहजनक रूपमा सहभागी भई समय व्यवस्थापन गर्न समेत अनुरोध गरेका छन्।
यस पटकको नेपाल महोत्सव नियमित तालिकाभन्दा करिब छ महिना अगावै आयोजना हुन लागेकाले पनि यसलाई विशेष चासोका साथ हेरिएको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का सचिव सुजन अधिकारीले यस राष्ट्रिय गौरवको महोत्सवलाई भव्य रूपमा सफल बनाउन व्यक्तिगत रूपमा र आईसीसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग एवं समन्वय गर्न आफूहरू सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैगरी एनआरएनए ओशिनिया क्षेत्रीय संयोजक रमेश जोशीले नेपाल महोत्सवलाई केवल एउटा सामान्य मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका रूपमा मात्र सीमित राख्न नहुनेमा जोड दिएका छन्।
उनले यस महोत्सवलाई नेपाली मौलिक कला, संस्कृति, गौरवमय पर्यटन र राष्ट्रिय पहिचानलाई अष्ट्रेलियाको मूलधारको बहुसांस्कृतिक समाजसमक्ष प्रभावशाली ढंगले प्रस्तुत गर्ने एउटा महत्वपूर्ण एवं रणनीतिक मञ्चका रूपमा व्याख्या गरे।
आयोजकका अनुसार नेपाल फेस्टिभल २०२६ मा नेपाली कला र संस्कृति झल्किने प्रस्तुतिहरूका साथै रैथाने नेपाली परिकारहरूको स्वादले अस्ट्रेलियाली नागरिकहरूलाई समेत आकर्षित गर्ने विश्वास लिइएको छ।






डिसी नेपाल





Facebook Comment