अमेरिकामा फिजिक्सका प्राध्यापक डा.ज्ञवाली उत्कृष्ट घोषित

डिसी नेपाल
२१ माघ २०७८ ११:०५

अमेरिका । अमेरिकाको टेक्सासमा प्राध्यापनरत एकजना नेपाली मूलका प्राध्यापकले आफ्नो कलेजबाट उत्कृष्ठ प्राध्यापक अवार्ड जितेका छन् र उनलाई सो विश्वविद्यालयले टेक्सास राज्यभरिबाट नै उत्कृष्ट प्राध्यापक घोषित गर्नका लागि नोमिनेशनसमेत गरेको छ।

टेक्सास राज्यको सान जेसिन्टो कलेजको साउथ क्याम्पसमा फिजिक्स विषयका प्राध्यापक डा.मधु ज्ञवाली त्यसरी सम्मान पाउने नेपाली मूलका प्राध्यपक हुन्।

उनलाई टेक्सास राज्य भरिबाट उत्कृष्ठ प्राध्यापकले पाउने माइने पाइपर अवार्डका लागि सान जेसिन्टो कलेजले नोमिनेसन गरेको घोषणा पनि गरेको छ। नेपालको गुल्मी घर भएका प्राध्यापक ज्ञवालीले सो कलेजबाट उत्कृष्ट फ्याकल्टी एण्ड स्टाफ अवार्डसमेत जितेका छन्।

सो कलेजद्वारा हालै जारी गरिएको सूचनाअनुसार, उनी विगत ६ बर्षदेखि सो कलेजमा फिजिक्स विषयमा प्राध्यपनरत छन् । ५० हजारभन्दा बढी विद्यार्थीहरु भएको सो कलेज सिष्टममा ६ सयभन्दा बढी फ्याकल्टी मेम्बरहरु छन्।

ती छ सयबाट ६ जना उत्कृष्टमध्येमा परेका उनी छानिएका ६ मध्ये पनि सर्बोत्कृष्ट भई पाइपर अवार्डका लागि नोमिनेशसनमा परेका हुन्।
गुल्मीको ग्वादीमा सरकारी विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेर तानसेनबाट एसएलसी र तानसेनबाटै बीएस्सीसम्म पढेका उनले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्समा स्नातकोत्तर गरेका थिए। उनले पिएचडी भने अमेरिकाबाट गरेका हुन्।

विश्वविद्यालयद्वारा जारी गरिएको सूचनाअनुसार, उनी अनुसन्धानमुलक विधिबाट विद्यार्थीहरुलाई शिक्षित गर्ने कार्यमा उत्कृष्ट भएका कारण उनलाई पाइपर अवार्डका लागि नोमिनेशन गरिएको हो। यो अवार्डमा टेक्सास राज्यका सबै निजी तथा सरकारी विश्वविद्यालयहरु र कलेजहरुबाट प्रतिष्पर्धाका माध्यमबाट छनौट गरिन्छ।

डा. ज्ञवालीको योगदानबारे कलेजको प्रकाशनमा सान जेसिन्टो कलेजका नेचुरल तथा हेल्थ साइन्सका डिन डा. त्रिस्टोफर वाइल्डले भनेका छन्, ‘डा.ज्ञवालीले आफ्नो विशिष्ट प्रतिभा र समय निरन्तररुपमा दिएर आफ्ना विद्यार्थीहरुलाई शिक्षित गर्दै आएका छन्।’

आफूले पाएको अवार्डले आफ्नो कामले सम्मान पाएको प्रतिक्रिया डा.ज्ञवालीले दिए। डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘यसले आफ्नो क्षेत्रमा थप अनुसन्धान गर्दै अध्यापनलाई अघि बढाउन हौसला मिलेको छ।’

डा.ज्ञवाली र उनका केही विज्ञ साथीहरु मिलेर नेपालमा पनि पीएचडीका विद्यार्थीलाई गाइड गर्ने काम अमेरिकाबाटै गरिरहेका छन्। उनको समूहले नेपालमा चट्याङ्ग पर्ने अवस्थाबारे पनि अध्ययन शुरु गरेको छ।

‘अहिले प्रराम्भिक अवस्थामै छौं तर अध्ययनका क्रममा सन् २०२० मा लकडाउन भई पोलुसन कम हुँदा चट्याङ्ग पनि घटेको पाइएको छ,’ उनले भने। उनका रिसर्च पेपरहरु प्रसस्तै भएका छन्। पछिल्लो समय उनी र उनको अनुसन्धान समूह अमेरिकाको टेक्सास राज्यको विगत २० बर्षदेखिको पोलुसनको अवस्था र कारणको बारेमा अध्ययनरत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *