असनका भाँडा व्यापारीको हत्या आरोपमा ६ जना पक्राउ
काठमाडौं । काठमाडौंको असनमा भाँडा पसल गरिरिहेका एक व्यापारीलाई जग्गा दिलाईदिने बाहनामा नवलपरासी पुर्याएर हत्या गर्ने ६ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका– २७ असनमा भाँडा तथा हार्डवेयर व्यवसाय गर्दै आएका ३५ वर्षीय विजय चौधरीलाई नवलपरासी पुर्याएर हत्या गरी फरार रहेकालाई भारतीय प्रहरीको सहयोग पक्राउ गरिएको हो ।
चौधरीलाई गत माघ १० गते रामग्राम नगरपालिकास्थित जोकवारमा हत्या गरी फालिएको अवस्थामा फेला पारिएको थियो । नवलपरासी पश्चिम जिल्ला प्रहरी कार्यालयका अनुसार चौधरीको हत्यामा नवलपरासी जिल्लाका रामग्राम नगरपालिका– ५ ड्राइभर टोलका ३७ वर्षीय राजु शाह भनिने मञ्जुर आलम देवान र निजकी ३५ वर्षीय श्रीमती हदिसुन नेसा रहेका छन् ।
त्यस्तै रामग्राम नगरपालिका–२ परासी बस्ने वसन्तकुमार सहानी, निजकी श्रीमती शारदादेवी केवट, काठमाडौंका तलत अलि खान र जितबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
नवलपरासीपश्चिम प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रेमबहादुर शाहीका अनुसार मंगलबार प्रहरीले भारतीय सीमावर्ती महेशपुर नाकाबाट पक्राउ गरेको थियो । देवानदम्पतीले २० लाखको प्रलोभनमा परेर चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ । देवान दम्पत्तिले घरजग्गा किनाइ दिने भन्दै नवलपरासी पुर्याएका थिए । तलत अलीले देवानको सम्पर्कमा व्यापारी चौधरीलाई भेट गराएको प्रहरीले जनाएको छ ।
उनीहरूले आफ्नै घरमा चौधरीलाई हात पछाडि बाँधेर घाँटीमा डोरीले कसेर हत्या गरेका थिए । प्रहरीका अनुसार हत्या पछि चौधरीको शवलाई देवान दम्पतीले मोटरसाइकलमा राखेर जोकवार गाउँको बाटोमा लगेर फालेका थिए ।
२० लाखमध्ये १७ लाख ३३ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ । जसमध्ये २ लाख रुपैयाँ पक्राउ परेका केवटको घरबाट छ भने १५ लाख ३३ हजार ५ सय रुपैयाँ परासी बजारकै एक मोबाइल पसलबाट बरामद गरेको हो । केवटले नै मोबाइल पसलमा पैसा राख्न दिएको खुलेको छ । पक्राउ परेका केवट र पत्नी देवानका दिदी–भिनाजु रहेको प्रहरीले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment