वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न के के गर्दैछ निर्वाचन आयोग ?

डिसी नेपाल
१ फागुन २०७८ १७:१७
24
Shares

काठमाडौं । सरकारले घोषणा गरेकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको छ ।

सरकारले २०७९ वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

सोही मितिमा निर्वाचन सम्पन्न गर्न र आवश्यक जानकारी सर्वसाधरणलाई दिन आयोगले आजबाट निर्वाचन लक्षित पत्रकार सम्मेलन गर्न सुरु गरेको छ ।

आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, जनशक्ति व्यवस्थापन निर्देशिका, आर्थिक निर्देशिका, स्थानीय तह निर्वाचन निर्देशिका, निर्वाचन अनुगमन निर्देशिका, सुरक्षा ९व्यवस्थापन० निर्देशिकाको मस्यौदा तयार गरिरहेको छ ।

मतदान निर्देशिका, मतगणना निर्देशिका, मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका लगायतका निर्देशिकाहरुको मस्यौदा तयारी पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘यी निर्देशिकाहरु आयोगले स्वीकृत गरी क्रमशः लागू गर्दै जाने छ,’ उनले भने ।

निर्वाचन आयोग र अन्तरगत कार्यालयहरुको कार्यालय समय विहान ९ बजेदेखि साँझ ६ बजेसम्म कायम गरिएको छ भने विदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने ब्यवस्था मिलाइएको छ ।

‘आसन्न स्थानीय तह सदस्य निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको संभाव्यताका सम्वन्धमा विज्ञहरुसँग भएको छलफल तथा परामर्श अनुसार यस सम्वन्धी कार्यको अध्ययन गरी सात दिन भित्र अध्ययन प्रतिवेदन पेश गर्न एक कार्यदल समेत गठन भएको छ,’ प्रवक्ता पौडेलले भने ।

आगामी दिनमा स्थानीय तह निर्वाचनका सबै क्रियाकलापहरुलाई समेट्ने गरी निर्वाचन आयोगको दैनिक ई–बुलेटिन समेत प्रकाशन गर्ने योजना रहेको उनले जानकारी दिए ।

१२ अर्ब रुपैयाँ बजेट माग

आयोगले स्थानीय तह निर्वाचन सम्पन्न गराउन १२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जनाएको छ । सरकारसँग उक्त रकम माग गरिएको समेत जनायो ।

‘निर्वाचन ब्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

सरकारसँग बजेट प्रस्ताव सहित बजेट स्वीकृतीको प्रकृयामा रहेको र सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आव्हान गर्नेगरी मापदण्ड र स्पेसिफिकेशन स्वीकृत गरिएको आयोगले जनाएको छ ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.