स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्छः मुख्यमन्त्री पाण्डे
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज भक्तपुर नगरपालिकाका विभिन्न क्षेत्रहरूको स्थलगत अवलोकन गरेका छन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा भक्तपुर आएका मुख्यमन्त्री पाण्डेले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप अस्पताल, श्वासप्रश्वास पुनःस्थापना केन्द्र, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको अभिरुचिपूर्वक स्थलगत अवलोकन भ्रमण गरेका हुन।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्न सोही अनुरूपका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताए । मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशअन्तर्गत उच्च शिक्षा समितिको विधेयकमा सार्वजनिक, मानित र ट्रष्टअन्तर्गत विश्वविद्यालय सञ्चालन गर्न सकिने व्यवस्था रहेको हुँदा स्थानीय तहले त्यसअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गर्न सकिने धारणा व्यक्त गरे । उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै बागमती प्रदेशले प्रदेश मातहतका अस्पताललाई एक अर्ब बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको स्मरण गरे ।
बागमती प्रदेशअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति दिने योजना अगाडि ल्याएको जानकारी दिँदै उनले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सम्पदा संरक्षणको क्षेत्रमा गरिरहेको गतिविधि प्रशंसनीय रहेको बताए । उनले ख्वप अस्पताललाई १०० शय्या क्षमताको स्वीकृति प्रदान गर्न, अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि स्वास्थ्य उपकरण तथा सामग्रीहरू व्यवस्था गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री पाण्डेलाई स्वागत गर्दै नगरप्रमुख प्रजापतिले सांस्कृतिक सहर भक्तपुरको सङ्क्षिप्त परिचय तथा विशेषताबारे अवगत गराए । उनले ख्वप अस्पताल १०० शय्याको स्वीकृतिका लागि आवश्यक सहयोगका लागि मुख्यमन्त्री पाण्डेलाई आग्रह गरे ।
आकारले सानो भक्तपुर नगरलाई ‘ज्ञानविज्ञानको केन्द्र’ र पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानलाई सार्थकता दिन भक्तपुर नपाले जोड दिँदै नगरप्रमुख प्रजापतिले ख्वप विश्वविद्यालयको स्वीकृति पाएमा सस्तोमा गुणस्तरीय चिकित्सकहरू उत्पादन गरेर देशलाई आवश्यक जनशक्ति उपलब्ध गराउने बताए । सो अवसरमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ, सृजना सैँजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिकाका वडाध्यक्ष रवीन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी लगायतको उपस्थिति रहेको थियो ।
–––







डिसी नेपाल








Facebook Comment