सरकारले संसदमा पेश गरेको एमसीसी प्रस्ताव पारित नभए के गर्छन् देउवा ?

सम्भव सिंह ठकुरी
१० फागुन २०७८ १३:५२

काठमाडौं। सरकारले आगामी बिहीबार बस्ने संसद बैठकमा एमसीसीबारे छलफल हुने बताए पनि उक्त सम्झौता पारित गर्ने पक्षमा संसदभित्र अझैसम्म बहुमत जुटिसकेको छैन।

एमसीसी यथास्थितिमै पारित गर्ने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली कांग्रेस मात्रै एक्लै देखिएको छ। कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टीले (लोसपा) साथ दिने सम्भावना छ। किनकी लोसपा अहिलेसम्म एमसीसीको विपक्षमा बोलेको छैन।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) पनि एससीसीको विषयमा प्रष्ट हुन सकेको छैन। जसपाका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई खुलेरै पारित गर्ने पक्षमा देखिएपनि अध्यक्ष उपेन्द्र यादव अझै मौन रहेका छन्। त्यस्तैले जसपा आजको मितिसम्म पनि स्पष्ट छैन।

सरकारको गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ‘यथास्थितिमा’ एमसीसी पारित नगर्ने निर्णय गरिसकेको छ । यसरी पारित हुने/नहुने अन्यौलका बीच सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री देउवा पारित नभएमा के गर्छन्? भन्ने विषय पेचिलो बनेको छ।

तर कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत यो परियोजना पारित हुनेमा आशावादी छन्। सरकारमै रहेका माओवादी र नेकपा एसले विपक्षमा मतदान गर्ने निर्णय गरेपनि बिहीबारसम्म पक्षमा मत हाल्ने प्रवक्ता महतको भनाइ छ।

‘गठबन्धनको बैठकमा एमसीसीलाई संसदमा पेश गर्न निर्णय गर्ने बाहिर एउटा कुरा गर्ने भित्र अर्को कुरा गर्ने द्वैध प्रवृत्तिले देश र जनताको हित हुँदैन,’ महतले भने, ‘हामी अहिले पारित गर्ने पक्षको सहमति नै खोजिरहेका छौँ। सो समयसम्म पनि उहाँहरु विपक्षमा उभिनु भयो भने जनताले लेखाजोखा गर्नेछन्।’

उहाँहरुले विपक्षमा मतदान गर्नुभयो भने गठबन्धनको भविश्य के होला? भन्ने प्रश्नमा भने मतदान नभएसम्म बोल्ने अवस्था नभएको उनले बताए। ‘कांग्रेस र प्रधानमन्त्रीको जोड सबै दललाई सहमति गराएर पारित गर्ने हो। यो विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि संवाद गरिराखेका छौँ।’

‘उहाँहरुलाई एमसीसी परियोजना गठबन्धनसंग नजोडिदिन आग्रह पनि गरेका छौँ। त्यसैले सरकार र गठबन्धनको भविष्य मतदान नभएसम्म बोल्ने अवस्था छैन। जुन दिन मतदान हुन्छ त्यसपछि हामी निर्णय लिन्छौँ,’ महतले भने।

तर एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडा सोमबार बसेको पार्टीको सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय नै आधिकारीक भएकाले यो निर्णयबाट पछि नहट्ने बताउँछन्।

‘हामीले पटक पटक यथास्थितिमा एमसीसी परित गर्न सकिँदैन भन्दै आएका थियौँ। तर अहिले एमसीसी संसदमा दर्ता भइसकेका छ। हामी कुनैपनि हालतमा यो विषयको पक्षमा मतदान गर्दैनौँ,’खतिवडाले भने।

यो विषयले गठबन्धन र सरकारको भविश्य कस्तो हुन्छ ? भन्ने डिसी नेपालको प्रश्नमा उनले भने  ‘कुनै पनि सरकार स्थिर हुँदैन। यो गठबन्धन पनि आवश्यक्ताले बनेको हो। हिजो हामीलाई केपी ओली सरकार बीचमै टुट्छ भन्ने लागेको थिएन। तर परिस्थिति र आवश्यक्ताले ओली सरकार टुट्यो र यता जोडियो। भोलिको दिनमा परिस्थिति र आवश्यक्ता अनुकूल नहुन पनि सक्छ। त्यसकारण गठबन्धन भनेको आवश्यक्ता महशुस भएसम्म रहने हो। महशुस भएन भने रहिरहन पनि सक्दैन।’

माओवादी नेता गणेश शाह पनि अब गठबन्धनको भविश्य अनिश्चित नै देख्छन्। यथास्थितिमा एमसीसी परित नगर्ने विषयमा माओवादी केन्द्रको पुषमा भएको ८ औँ राष्ट्रिय महाधिवेशनबाट नै निर्णय भइसकेकाले यसमा अन्यौल हुननपर्ने उनको तर्क छ।

‘हामीले महाधिवेशनबाट नै एमसीसी देशको हितमा छैन भनेर निर्णय गरिसकेका छौँ। र संसदमा पेश भइसकेपछि पनि पक्षमा मतदान गर्दैनौँ भनिराखेका छौँ। शाहले भने, ‘यो निर्णय अब पुर्नःविचार हुँदैन। नेतृत्वको दवावका कारण एमसीसीको पक्षमा मतदान गर्नुपर्ने अवस्था आयो भने नेतृत्वमाथि नै प्रश्न उठ्छ।’

र यही कारणले गठबन्धनको भविश्य अन्यौल रहेको उनको भनाइ छ। परिस्थितिले जोडेको गठबन्धन परिस्थिति कै कारण विभाजन पनि हुन सक्ने भएकाले अहिले के हुन्छ भन्न सक्ने अवस्था नरहेको उनको धारणा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *