आज देशभर महाशिवरात्रि पर्व मनाइँदै
काठमाडौं। महाशिवरात्रि पर्व आज भगवान शिवजीको उपासना गरी मनाइँदैछ। पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखी भक्तजनको भीड लागेको छ। महाशिवरात्री आराध्यदेव भगवान महादेव अर्थात् शिवजीको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो।
देशभरका शिवालयहरुमा हर्षोलासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदैछ। शिवरात्री भगवान शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको मानिन्छ।
हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ। यिनै चार रात्री मध्ये शिवरात्री एक पवित्र पर्वका रूपमा रहेको छ।
फागुन कृष्ण चतुर्दशीका दिन प्रत्येक वर्ष यो पर्व मनाइने गरिन्छ । सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान शिवको प्रिय दिनका रूपमा पनि यस पर्वलाई लिइने गरिन्छ।
व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ।
ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन र शिव पार्वतीको विवाह भएको दिनका रुपमा शिवरात्रि पर्व मनाइन्छ। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्।
शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । यसै कारण पनि देश विदेशबाट भेला भएका शिवजीका भक्तजनहरुको पशुपतिनाथ मन्दिरमा विहानै देखि घुइचो लागेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment