नेपाली बजारमा पेट्रोलको मूल्य ह्वात्तै घट्ने संकेत, रुससँग सस्तोमा तेल किन्न भारत तयार

डिसी नेपाल
१ चैत २०७८ १३:०४

काठमाडौं। युक्रेनमा आक्रमणका कारण युरोपेली संघले रुसबाट तेल र ग्यास आयातमा कटौती गर्ने निर्णय गरेको छ । बेलायतले पनि यो वर्षको अन्त्यसम्म रुसी तेलबाट छुटकारा पाउने फैसला गरेको छ । अमेरिकाले पनि रुसबाट आयात गरिने तेल र ग्यासमा प्रतिबन्ध लगाएको छ । युद्धको अवस्थामा यी देशहरुको निर्णयले रुसलाई ठूलो आर्थिक क्षति भएको छ । यो नोक्सानीको भर्पाइको लागि रुसले भारतीय बजार रोजेको छ ।

रुसले भारतले उसको तेल किनोस् र आगामी दिनमा लगानी बढाओस् भन्ने चाहन्छ । यस सम्बन्धमा १० मार्चमा रुसका उपप्रधानमन्त्री अलेक्जेण्डर नोभाकले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप पुरीसँग छलफल गरेका छन् । यो छलफलपछि रुसले एउटा बयान जारी गरेको छ । रुसले जारी गरेको बयानमा भारतले रुसबाट वार्षिक १ अर्ब डलरको पेट्रोलियम आयात गर्ने र आगामी दिनमा यसमा वृद्धि हुने सम्भावना रहेको उल्लेख छ ।

केही दिनअघि रुसका तेल कम्पनीहरुले भारतको सरकारी कम्पनी इण्डियन आयल कर्पोरेसनलाई कच्चा तेल पुरानो मूल्यमा समेत २५ देखि २७ प्रतिशतसम्म छुटमा उपलब्ध गराउने प्रस्ताव गरेका थिए । रुसको तर्फबाट यस्तो प्रस्ताव आएपछि अहिले भारतले रुसबाट कच्चा तेलसहित अन्य उत्पादनहरु सस्तो मूल्यमा आयात गर्ने तयारी गरिरहेको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । भारतले आधिकारिक रुपमा यसबारे केही बताइसकेको छैन ।

भारतले रुसबाट सस्तो मूल्यमा कच्चा तेल ल्याउँदा यसको सीधा असर नेपाली बजारमा पर्नेछ किनकि नेपालले भारतको इण्डियन आयल कर्पोरेशनबाट प्रशोधित तेल किन्छ । नेपालले कच्चा तेल किनेर प्रशोधन गर्दैन । इण्डियन आयलले कच्चा तेल किनेर प्रशोधन गरेपछि त्यो प्रशोधित तेल नेपालले किन्ने गरेको छ । इण्डियन आयलले भारी छुटमा तेल किनेर सस्तो मूल्यमा आफ्नो बजारमा बिक्री गर्दा नेपालले पनि सस्तो मूल्यमा तेल पाउने सम्भावना उच्च हुन्छ किनकि इण्डियन आयलको बजारमा नेपाल पनि पर्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भारी वृद्धि हुँदा त्यसको असरले नेपाली बजारमा पनि तेलको मूल्य बढिरहेको छ ।

भारतले रुससँग कच्चा तेल सस्तोमा किन्नको लागि अग्रसर भएको भए पनि यहाँ केही प्रश्नहरु भने छन् । अमेरिकाले रुसलाई प्रतिबन्ध लगाएको अवस्थामा भारतले रुसबाट कति थप तेल किन्न सक्छ र यसको मूल्य कतिसम्म घट्न सक्छ भन्ने प्रश्न प्रमुख हो । ऊर्जा षेत्रका जानकारहरुका अनुसार विश्वमा आपूर्ति हुने तेलको १२ प्रतिशत रुसमा, १२ प्रतिशत साउदी अरबमा र १६ देखि १८ प्रतिशत अमेरिकामा उत्पादन हुन्छ । भारतले आफ्नो बजारमा खपत हुने तेलको ८५ प्रतिशत विदेशबाट आयात गर्छ र आयात गरिने तेलको ६० प्रतिशत खाडी देशहरुसँग किन्छ ।

तेल आयातका लागि अहिलेसम्म भारत साउदी अरब र अमेरिकामा धेरै निर्भर छ । यसका अलावा भारतले इराक, इरान, ओमन, कुवेत र रुससँग पनि तेल किन्छ । यसबाहेक केही तेल स्पट मार्केट अर्थात खुला बजारबाट पनि किन्छ । अहिलेसम्म भारतले रुसबाट आफूलाई आवश्यक पर्ने तेलको २ प्रतिशत मात्र किन्छ । यहाँनिर अर्को एउटा प्रश्न पनि छ – रुसले युरोपको अधिकांश तेल आवश्यकताको पूर्ति गर्छ भने भारत रुसको मित्र देश भएर पनि भारतले यति कम मात्रै तेल किन किन्छ ?

ऊर्जा विशेषज्ञ नरेन्द्र तनेजा भन्छन् ‘यसको जवाफ केही हदसम्म रुसको भौगोलिक स्थितिमा लुकेको छ । रुसको तेल उत्पादन हुने क्षेत्र पूर्वी इलाकाबाट केही टाढा छ । उत्तरबाट तेल ल्याउन समस्या यो छ कि त्यो क्षेत्र आर्कटिक क्षेत्र नजिक छ जहाँ धेरैजसो समय हिउँ जमेको हुन्छ । तेस्रो बाटो ब्ल्याक सीको बाटो हो जुन यतिबेला (युद्धका कारण) अवरुद्ध छ ।’ पछिल्लो १० वर्षमा भारतले तेल आयातमा कुनै एक देशमा निर्भरता अन्त्य गर्नको लागि कैयौं अरु देशबाट तेल किन्न सुरु गरेको छ । यी थपिएका देश अमेरिका र रुस पनि हुन् ।

नरेन्द्र तनेजा अगाडि भन्छन् ‘रुसमा भारतले तेल र प्राकृतिक ग्यासको क्षेत्रमा १६ अर्ब डलर लगानी गरेको छ तर त्यो तेल भारतले आफूले किन्दैन, अन्य देशहरुलाई बेचिदिन्छ ।’ अहिलेको समयमा रुससँग तेल नकिनेका कारण पनि विश्व बजारमा तेलको मूल्य आकाशिएको छ । यस्तोमा रुस भारतलाई कम मूल्यमा तेल बेच्न तयार हुने मानिएको छ ।

अहिले रुसबाट तेल किन्न अमेरिकामा मात्र प्रतिबन्ध छ त्यसैले भारतले रुसको तेल किन्न सक्छ । तर, त्यहाँबाट तेल ल्याउन र त्यसको भुक्तानी गर्न भने समस्या छ । यसको समाधानका लागि भारतीय बैंकहरुले भारतीय रुपैयाँ र रुसी रुबलमा कारोबार गर्न सुझाव दिएका छन् । भारतले यसअघि भारतले इरानमाथि प्रतिबन्ध लागेका बेला पनि आ–आफ्नो मुद्रामा कारोबार गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *