नेपालगञ्जमा यस वर्षकै बढी गर्मी

डिसी नेपाल
१६ जेठ २०८१ २१:०७
168
Shares

नेपालगञ्ज। नेपालगञ्जमा आज यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगञ्जकी इञ्जार्च मीना शिवाकोटीले नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव आठ रेकर्ड भएको जानकारी दिइन्। उक्त तापक्रम यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी भएको उनले बताइन।

‘केही दिन अझै तापक्रम बढ्नसक्छ तर कति बढ्छ भन्न सकिदैन’, उनले भनिन्। जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकाले बिहीबार र शुक्रबार तापक्रम झनै वृद्धि हुने पूर्वामानुमान छ। गर्मी बढ्न सक्ने भएकाले सचेत रहन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ। गर्मीका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन्।

वीरगञ्जबाट कामको सिलसिलामा नेपालगञ्ज आएका सरोज पटेलले वीरगञ्जभन्दा नेपालगञ्जमा धेरै गर्मी महसुस गरेको बताए।‘ठोस पदार्थ खान मन लाग्दैन, मुख पनि सुक्खा हुन्छ पानी खाँदै हिँडिरहेको छु’, उनले भने।

अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन्। चिकित्सकले गर्मीबाट जोगिन बढी पानी पिउन र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन्। भेरी अस्पताल नेपालगञ्जका चिकित्सक डा संकेत रिसालले केही दिनयता अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको जानकारी दिए। उनले सबैभन्दा बढी छालाका बिरामी आउने गरेको बताए। त्यसबाहेक झाडापखाला, ज्वरो र ‘लु’ का कारण आँखामा सङ्क्रमण भएका बिरामी पनि अस्पतालमा भर्ना भएको उनले बताए। ‘ज्वरोका बिरामीको रिपोर्ट सामान्य नै छ तर अस्पताल भरिभराउ छ’, उनले भने।

गर्मीमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन्। ‘विद्युत् सहज नहुँदा झन अप्ठ्यारो भएको छ’, स्थानीय आरती गौतमले भने।

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले गत साता आएको हुरीले दुई सय बढी खम्बा ढलेपछि समस्या भएको बताए। हावाहुरीले ठूलो क्षति पुगेपछि विद्युत् वितरणमा समस्या भएको र केही दिनमा समस्या समाधान हुने लामिछानेको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *