भारतको ३१.६९ करोड आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माण सुरु

डिसी नेपाल
१ चैत २०७८ १४:३४

काठमाडौं। भारतको ३१.६९ करोड रुपैयाँ आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन निर्माण कार्य सुरु गरिएको छ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार संयुक्त रुपमा पुस्तकालय निर्माण स्थलको भूमिपुजा गरेका हुन्।

भूमिपुजा कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, केन्द्रीय परियोजना कार्यान्वयन इकाई लगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो। सो अवसरमा उक्त परियोजनाको कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भारतीय राजदूतावासबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप ३१.६९ करोडको लागतमा पुस्तकालयको निर्माण हुने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

‘यसरी निर्माण हुने नयाँ तीन तल्ले भवनमा आधुनिक सुविधा लगायत अतिरिक्त सुविधा सहितको विभिन्न प्राज्ञिक शाखाहरु हुनेछन्।  भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआइ) ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ,’ दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाललाई २५ करोड अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । सो रकममध्ये ५ करोड अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुनेछ।

भारतीय सहयोगमा हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ। यीमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको छ।

हालको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको थियो। त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *