मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै

डिसी नेपाल
२५ असार २०८३ २२:२८

मुस्ताङ। मुस्ताङको स्याङ र मार्फा खोलामा आजदेखि नदी उकास घटाउन थालिएको छ। कोरलानाका जोड्ने स्याङ खोला पुलमा बर्सेनि नदी उकास बढ्न थालेपछि पुल, बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्न थालेसँगै स्याङ खोलामा नदी नियन्त्रणका लागि उकास घटाउने काम सुरु गरिएको हो।

संरक्षण क्षेत्र व्यवस्थापन समिति (मार्फा)को पहलमा घरपझोङ गाउँपालिका-३ स्थित स्याङ खोलामा च्यानालिङ (उकास घटाउने काम) थालिएको हो। संरक्षण व्यवस्थापन समिति (मार्फा)ले चालु आर्थिक वर्ष मार्फा र स्याङ खोलामा नदी नियन्त्रणका लागि रु एक/एक लाख बजेट विनियोजन गरिएपछि उक्त स्थानमा नदी उकास घटाउन च्यानालिङको काम सुरु गरिएको संरक्षण व्यवस्थापन समितिका अध्यक्ष आसबहादुर थकालीले जानकारी दिए।

कोरला सडकअन्तर्गत घरपझोङ-२ स्थित मार्फा र घरपझोङ-३ स्याङ खोलामा बर्सेनि नदीजन्य पदार्थ ढुङ्गा, गिटी, बालुवा र ग्रेगान थुप्रिएर नदी उकास बढेकाले पुलको भौतिक संरचना, आसपासका बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्न थालेको उनले उल्लेख गरे।

समितिका अध्यक्ष थकालीका अनुसार स्याङ खोलाको धारलाई नियन्त्रणमा राख्ने उद्देश्यले गरिएको च्यानालिङका लागि संरक्षण क्षेत्र व्यवस्थापन समितिले इन्धनको व्यवस्था गरेको छ भने अमित बिल्डर्स र ङुटुक गुरुङ (टाइगर)ले निःशुल्क दुई वटा स्काभेटर (डोजर) उपलब्ध गराएका छन्। कोरला नाका जोड्ने स्याङ पुल क्षेत्रको तल र माथि गरी करिब ५०० मिटर दूरीमा दुईतर्फी खोलालाई च्यानालिङ गरिएको उनले जानकारी दिए।

मुस्ताङमा कालीगण्डकी नदी तथा शाखा नदीहरूमा नदीजन्य पदार्थ बर्सेनि थुप्रिँदा यहाँका सडक, पुलपुलेसा, बस्ती र खेतीयोग्य जमिन कटानको उच्च जोखिममा पर्ने गरेका छन्। प्राकृतिक स्रोत ढुङ्गा, गिटी, बालुवाको समुचित उत्खनन तथा व्यवस्थापन नहुँदा कालीगण्डकी नदी र शाखा नदीको जोखिम बढ्दै जान थालेको समितिका अध्यक्ष थकालीले बताए।

पुल, बस्ती र खेतीयोग्य जमिन संरक्षण गर्न घरपझोङ गाउँपालिकाले रु २० लाख बजेट विनियोज गरी नदी नियन्त्रण तथा ग्याविन तटबन्ध निर्माण गरेको वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले जानकारी दिए। स्याङ खोलामाथि पक्की पुल रहेको स्थानमा एक सय थान ग्याबिन वाल प्रयोग गरी आठ सय मिटर दूरीमा तटबन्ध निर्माण गरिएको उनले उल्लेख गरे।

उक्त खोलाको सुरुवाती गहिराई २५ मिटर रहेकामा बर्सेनि नदीजन्य गेग्रान भरिँदा हाल १५ मिटर उकास बढेको वडाध्यक्ष थकालीले जानकारी दिए। स्याङ र मार्फा खोलामा बर्सेनि आउने बाढीपहिरोका कारण पुलक्षेत्रको नदी उकास बढेको भन्दै यसले मार्फा र स्याङ गाउँका केही बस्ती र खेतीयोग्य जमिन नदी कटानको जोखिममा परेका उनले बताए।

कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले कालिगण्डकी नदी तथा शाखा नदीहरूमा नदीजन्य पदार्थको उकास भरिँदा सडक तथा पुलपुलेसा जोखिममा रहेका बताए। कोरला सडकअन्तर्गत छुसाङ, पाण्डा, मार्फा, स्याङ खोलालगायत स्थानमा नदी उकासले गर्दा सडक तथा पुल जोखिममा पर्ने गरेका उनको भनाइ छ।

आयोजना प्रमुख शर्माले नदी उकासले जोखिममा परेका सडक तथा पुलपुलेसा रहेका स्थानमा प्रारम्भिक र दीर्घकालीन समाधानका योजना तयार गरी नदी नियन्त्रणसम्बन्धी कार्यक्रम कार्यान्वयनमा ल्याइने बताए।

प्राकृतिक स्रोत ढुङ्गा, गिटी र बालुवाको समुचित व्यवस्थापन गरी नदी उकास घटाउन कानुनी र प्राविधिक जटिलता विद्यमान रहेका उल्लेख गर्दै उनले यसबारे सरोकार भएका निकायसँगको समन्वयमा प्राविधिक अध्ययन गरी तत्काल गर्न सकिने र दीर्घकालीन योजना अघि बढाउने लक्ष्य रहेको जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *