किन रोकियो इजरायल जाने केयरगिभरको प्रक्रिया ?

डिसी नेपाल
४ चैत २०७८ १७:२०

काठमाडौं । इजरायल जाने तयारीमा रहेका नेपाली दीर्घकालीन सहायक कामदार (केयरगिभर) लैजाने प्रक्रिया रोकिएको छ । अहिलेसम्म चार चरणमा गरेर २९७ जना मात्र इजरायल जान पाएका छन् । इजरायल जानको सम्झौता गरिसकेका एक हजार ४९ जना कामदारको लामो समयदेखि भिसा आउन सकेको छैन । उनीहरूको इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले रोजगार सम्झौता गरेर नेपाल पठाइसकेको छ । अब झण्डै ९० जनाको रोजगार सम्झौता पत्र आउन बाँकी छ ।

वैदेशिक रोजगार विभागले ८०० जना कामदारसँग सम्झौता पनि गरिसकेको छ । उनीहरू इजरायल प्रवेशाज्ञाको प्रतीक्षामा छन् । इजरायल पुगेका कामदारहरूले एक महिनाको तलबभत्ता पनि बुझिसकेका छन् । तर, प्रवेशाज्ञाको प्रतीक्षामा रहेकाहरू भने कहिले जान पाउने भन्ने अन्यौलमा छन् ।

विभागका निर्देशक तथा इजरायल केयरगिभर सम्बन्धी हेर्ने निकायका संयोजक श्रीचन्द्र शाहले नेपालको कारण नभई इजरायलकै कारण रोकिएको बताए । ‘हाम्रो कारणले रोकिएको होइन, समस्या उनीहरूकै हो । नेपालस्थित इजरायली दूतावासले परराष्ट्र मन्त्रालयका कर्मचारीहरू सेवा सुविधाको माग गर्दै हड्तालमा रहेको जानकारी दिएको छ । जसले गर्दा ढिलाइ भइरहेको हो,’ निर्देशक शाहले भने ।

उनीहरूको हड्तालका कारण नेपालबाट मात्र नभई अन्य देशबाट पनि जाने तयारीमा रहेका कामदारको प्रक्रिया रोकिएको छ । नेपालबाट एक हजार १७५ जना इजरायल जान लागेका छन् । त्यसका लागि नेपाल र इजरायलबीच सम्झौता भएको थियो । सोही आधारमा २९७ जना नेपाली गइसकेका छन् । पहिलो चरणमा गत माघ ५ गते ९९ जना नेपाली कामदार इजरायल प्रस्थान गरेका थिए । इजरायल पुगेपछि केही दिन क्वारेनटिनमा बसेर उनीहरू काममा लागेका थिए । त्यस्तै दोस्रो चरणमा माघ १५ गते १२० जना नेपाली गएका थिए ।

किन रोकियो भन्ने बारे इजरायलले भने नेपाललाई औपचारिक जानकारी गराएको छैन । अनौपचारिक रूपमा दूतावासले कर्मचारीको हडतालको कारण रोकिएको बताएको छ ।

करार पत्रमा सम्झौता भइसकेकालाई नेपालस्थित इजरायली दूतावासले प्रस्थान भिसा ‘बी–१’ दिनेछ । जुन ३० दिनको हुनेछ । जुन इजरायल प्रवेशको लागि मात्र हुनेछ । कर्मचारीको हड्तालका कारण दूतावासले उक्त काम पनि रोकेको छ ।

रोकिएका कामदार कहिले लैजाने भन्नेबारे केही जानकारी नआएको निर्देशक शाहले बताए । ‘अब कहिले जान पाउँछन् भन्ने हाम्रो हातको कुरा छैन । जहिले इजरायलको गतिरोध अन्त्य हुन्छ, त्यही बेला जान पाउनुहुन्छ ।’ निर्देशक शाहले भने ।

नेपालको तर्फबाट गर्नुपर्ने सबै काम पुरा भइसकेको र इजरायल सरकारको तर्फबाट गर्नुपर्ने काम मात्र बाँकी रहेको उनको भनाइ छ । नेपाल सरकार र इजरायल सरकारबीच १४ असोज २०७७ मा श्रम सम्झौता भएको थियो ।

सोही आधारमा एक हजार जना नेपाली कामदार इजरायल लैजाने प्रक्रिया अघि बढेको थियो । रोजगार सम्झौता गरेर इजरायल जाने प्रतीक्षामा रहेका नेपालीहरू कहिले जान पाउने भन्नेमा अन्यौलमा छन् । जतिसक्दो चाँडो लगिदिनुपर्नेमा उनीहरूको जोड छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *