भरतपुर महानगर : कांग्रेस र माओवादीको प्रतिष्ठाको लडाइँ, कमजोर छैन एमाले

सम्भव सिंह ठकुरी
२२ चैत २०७८ १२:५४

काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अहिले दलहरुको प्रतिष्ठाको लडाइँ चितवनको भरतपुर महानगरमा केन्द्रित छ । देशको संघीय राजधानी काठमाडौं महानगरले भन्दा पनि बढी चासो र चर्चा भरतपुरले पाएको छ ।

अघिल्लो स्थानीय निर्वाचनमा मतगणनास्थलमा मतपत्र नै च्यातेर पुनः निर्वाचन गरिएको र देशको तेस्रो दल माओवादीका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहालले मेयर पदमा जितेको यो महानगर अघिल्लो निर्वाचनको विवाद र अहिले माओवादी र कांग्रेसको अडानका कारण ‘हटकेक’ बनेको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियानमा केन्द्रित रहेका राजनीतिक दलहरुले भरतपुर महानगरलाई केन्द्रविन्दुमा राखेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुरको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसले उम्मेदवारी दिने गरी तालमेल भएको थियो। र, अहिले पनि यी दुई दलबीच नै तालमेल हुने चर्चा छ ।

अघिल्लो निर्वाचनमा तालमेलअनुसार प्रमुखमा माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल र उपप्रमुखमा कांग्रेसकी पार्वती शाह विजयी भएका थिए। तालमेल गरेकाले प्रमुखमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको थिएन र उपप्रमुखमा माओवादीले आफ्नो उम्मेदवार उठाएको थिएन । माओवादीले अहिले पनि यस्तै गर्ने प्रस्ताव गरेको छ तर कांग्रेसले पद साटासाट गर्नुपर्ने माग गरेपछि यहाँ तालमेलको विषय पेचिलो बनेको छ ।

कांग्रेसले महानगरको नेतृत्व आफूले पाउनुपर्ने माग गरेको छ । यसो हुन नसक्ने हो भने बरु तालमेल नै नगर्ने र एक्लाएक्लै चुनाबमा जान चितवन कांग्रेस तयार छ । तर, माओवादी भने एक्लै चुनाबमा जान तयार छैन त्यसैले माओवादी कांग्रेसलाई फकाउन प्रयासरत छ । त्यसमाथि कांग्रेसको जिल्ला नेतृत्व एक्लै चुनाबमा जान तयार भए पनि केन्द्रीय नेतृत्व भने तालमेलको पक्षमा भएकोले माओवादीलाई तालमेलको लागि दबाब बढाउन सजिलो भएको छ ।

कांग्रेसको जिल्ला नेतृत्व भने अघिल्लो स्थानीय निर्वाचनमा भएको सहकार्य माओवादीले ६ महिना नबित्दै प्रदेश र संघीय निर्वाचनमा तोडेकोले अहिले ‘उधारो’ आश्वासनमा सहमत हुन तयार छैन । चितवन कांग्रेसले अघिल्लो पटक आफूले माओवादीलाई गुन लगाएकोले यस पटक माओवादीले गुन लगाउनुपर्ने बताइसकेको छ । चितवन कांग्रेसको प्रस्ट अडान छ ‘अहिले हामीलाई जिताउनुपर्यो त्यसपछि प्रचण्डलाई संघीय निर्वाचनमा जिताउने कुरामा विचार गर्न सकिन्छ ।’

तर, यो महानगर संघीय संसदमा माओवादी अध्यक्ष प्रचण्डले प्रतिनिधित्व गरिरहेको क्षेत्र हो । त्यसैले यहाँ माओवादीको लागि पनि प्रतिष्ठाको सवाल छ र प्रतिष्ठा जोगाउनकै लागि माओवादीले प्रचण्ड पुत्री रेणु दाहाललाई नै मेयर बनाउने प्रयास गरिरहेको छ । रेणुलाई मेयरमा जिताउन सके आफ्नो राजनीतिक प्रभाव कायम रहने र संघीय निर्वाचनमा प्रचण्डलाई जित्न सहज हुने माओवादीको बुझाइ छ ।

सत्तारुढ गठबन्धनबीच प्रतिष्ठाको लडाइँ चल्दै गर्दा यहाँ एमालेलाई फाइदा हुने सम्भावना बढेर गएको छ । अघिल्लो स्थानीय निर्वाचनमा दोस्रो पटक मतदान गर्दा समेत यहाँ रेणु दाहालले एमालेका देवी ज्ञवालीलाई मात्रै २०३ मतले पछि पारेकी थिइन् । त्यतिबेला माओवादी र कांग्रेसको गठबन्धन थियो । एमाले एक्लै निर्वाचनमा गएको थियो । र, त्यो निर्वाचनमा राप्रपा तेस्रो शक्ति थियो ।

अहिलेको निर्वाचनमा सत्ताधारी ५ दलको गठबन्धन भए एमाले र राप्रपा पनि मिलेर जान तयार भएका छन् । यदि यहाँ सत्ताधारी गठबन्धन एकातिर र एमाले–राप्रपा गठबन्धन अर्कोतिर भए भने एमाले राप्रपा गठबन्धनको पल्ला भारी देखिन्छ । अघिल्लो निर्वाचनमा यहाँको मेयरमा राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८ सय बढी मत ल्याएका थिए । यो मत एमालेमा मिसियो भने एमाले सत्ताधारी गठबन्धनभन्दा बलियो देखिन्छ । यद्यपि नयाँ थपिएका मतदाताले केही फरक भने पार्न सक्छन् ।

जम्मा २९ वडा रहेको महानगरमा अघिल्लो निर्वाचनमा एमालेले १४ कांग्रेसले १२ र माओवादीले ३ वटा वडामा वडाध्यक्ष जितेका थिए । अघिल्लो निर्वाचनको मतपरिणाम हेर्दा मेयरमा रेणु दाहाल ४३ हजार १२७ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धामा एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ प्राप्त गरेका थिए । यो मनान्तर भनेको २०३ मतको झिनो मतान्तर हो । तेस्रो भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत प्राप्त गरेका थिए।

उपमेयरमा भने कांग्रेसकी पार्वती शाहले सर्वाधिक ४७ हजार १९७ मत प्राप्त गरेकी थिइन्। उपमेयरमा एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत र राप्रपाकी रिना गुरुङले ७ हजार २५२ मत प्राप्त गरेकी थिइन् । उपमेयरमा पनि एमाले र राप्रपाको मत जोड्ने हो भने कांग्रेसकी उम्मेदवारले पाएको मत भन्दा ४२० मात्र कम हुन्छ । यसले पनि यहाँ एमाले कमजोर छैन भन्ने देखाउँछ ।

यसरी अघिल्लो निर्वाचनको मत परिमाणलाई नियाल्दा एमाले र कांग्रेसबीच नै तीब्र प्रतिस्पर्धा हुने देखिन्छ। तर चुनावी समीकरणको विभिन्न वहसहरु हेर्दा एमाले नै बलियो देखिएको छ। सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक पार्टीले चुनावी तालमेल गर्ने निर्णय गरेसँगै प्रमुख प्रतिस्पर्धी दल एमालेले पनि राप्रपासँग चुनावी तालमेल गर्नेतिर अग्रसर बन्दैछ।

एमाले र राप्रपाले चुनावी तालमेलको विषयमा पटक–पटक छलफल गरिरहेका छन् ।
चितवन जिल्ला राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको गृह जिल्ला परेकाले उनको प्रभाव पनि निर्णयक मानिन्छ। २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित भएका पाण्डेको राम्रो जनधार भएको नेताका रुपमा चिनिन्छन्।
त्यसकारण सत्तारुढ गठबन्धन भर्सेज एमाले–राप्रपाको तालमेलको सम्भावना बढ्दै जाँदा महानगरको नेतृत्व कस्ले बाजी मार्ने हो यसै भन्न सकिने अवस्था छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *