यस्ता छन् डब्ल्यूएचओका महानिर्देशक टेड्रोस नेपाल आउनुको कारण

डिसी नेपाल
५ वैशाख २०७९ ११:१८
224
Shares

काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयसस आगामी बिहीबार नेपाल भ्रमणमा आउँदैछन्। उनी भारत हुँदै नेपालको तीन दिने भ्रमणमा आउन लागेका हुन्।

उनको नेपाल भ्रमणको लागि परराष्ट्र र स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी थालेको छ। उनको नेपाल भ्रमणका क्रममा कस्ता विषयलाई उठान गर्ने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु गहन छलफलमा छन्।

कोरोना भाइरसको महामारीबाट नेपालले भोग्नुपरेको समस्या, नेपालका जनस्वास्थ्य क्षेत्रका चुनौती लगायतका विषय नेपालले उठान गर्नेछ। नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यतालिका बनेको छ।

त्यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेट गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए।

स्वास्थ्यमन्त्री खतिवडाको निमन्त्रणमा नेपाल आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखको भ्रमणलाई नेपालले महत्वका साथ हेरेको छ। नेपालको भ्रमणका क्रममा उनले टाइफोइड रोगविरुद्धको खोप अभियानको पनि अवलोकन गर्नेछन्।

यसअघि कोरोना महामारीको समयमा नेपालको दुर्गम भेगमा खोप पुर्‍याउने काममा खटिएका स्वास्थ्यकर्मीको भिडिओलाई ट्वीटरमार्फत सेयर गरेका थिए। सबैको पहुँचमा खोप पुर्‍याउनुपर्ने धारणा उनको थियो।

कोरोना महामारीको समयमा डब्ल्यूएचओले नेपाललाई कोभ्याक्स र गाभीमार्फत खोपहरू उपलब्ध गराउन सहयोग गरेको थियो। त्यस्तै कोरोना महामारीसँग लड्न विश्व समुदायलाई समेत नेपालमा सहयोग गर्न अनुरोध गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.