‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र

डिसी नेपाल
६ वैशाख २०७९ २१:५१
12
Shares

काठमाडौं । ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ। नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै रु दुई लाख पुरस्कार प्राप्त गर्‍यो।

दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार जितेको छ। लघु चलचित्र गौरव–२, फातिमा र गरिमाले सान्त्वना स्थान हासिल गरेको छ। प्रतियोगितामा ५१ लघु चलचित्रका लागि निवेदन परेकामा उत्कृष्ट १० लाई निर्माणको अनुमति दिइएको थियो। त्यसमा उत्कृष्ट ६ लघु चलचित्रले भने पुरस्कार पाएको हो। उक्त चलचित्रको मूल्याङ्कन समितिका सदस्य सरिता लामिछानेले छायाङ्कन, आवाज, वत्ती, सन्देश, सिर्जना र निर्देशन पक्षलाई ख्याल गरेर पुरस्कारका लागि लघु चलचित्र छनोट गरेको जानकारी दिए।

वर्षा शाहको फोटो उत्कृष्ट

नेपाली सेनाले यसपटक सैनिक र गैरसैनिक विधामा फोटो प्रतियोगिता पनि आयोजना गरेको थियो । फोटो प्रतियोगितामा गैरसैनिकतर्फ फोटो पत्रकार वर्षा शाहको फोटो उत्कृष्ट भएको छ। उनको सेनाले बाढीमा परेकी एक बालिका उद्धार गरेर सुरक्षित गन्तव्यस्थलतर्फ लैजाँदै गरेको फोटोले पुरस्कार जितेको हो।

दोस्रो समीप श्रेष्ठ र तेस्रो स्कन्द गौतम भएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयतर्फ हुँदा ईश्वर खड्काको फोटो वर्षको उत्कृष्ट फोटो छनोट भएको छ। सैनिकतर्फ उत्कृष्ट १० फोटोलाई आजै पुरस्कृत गरिएको थियो। जसमा नं १४ बाहिनी अड्डा, वीरेन्द्र अस्पताल, प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालय, बज्रदल गण, सैनिक सामग्री प्राप्ति निर्देशनालय, महाविर गण (रेञ्जर), युद्ध भैरव गण, युद्धकार्य निर्देशनालय, सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालय र महाविर गण (रेञ्जर) रहेको छ।

फोटो तथा विविध प्रदर्शनीतर्फ भैरवबहान गुल्म पहिलो, विशेष फौज बाहिनी दोस्रो, शार्दुलजङ्ग गुल्म तेस्रो भएको छ भने सिपाही जर्नल र शिवपूरी जर्नलमा धर्मबहादुर बानियाँको लेख पहिलो र तेस्रो तथा सत्बिन्दर सिंहको लेख दोस्रो हुँदै पुरस्कार प्राप्त गरेको छ।

प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा आजै सबै विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ। सो क्रममा फोटो प्रदर्शनीका साथै उत्कृष्ट लघु चलचित्र गरिमा, फातिमा, गौरव २, डोल्मा, सेता मलामी र सेनाको चेली पनि प्रदर्शन गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.