मानव सेवा समाजलाई आवश्यक सहयोग गर्ने डा. महतोको घोषणा

डिसी नेपाल
७ वैशाख २०७९ १७:४२
236
Shares

काठमाडौं । पूर्व सभासद् तथा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले समाजमा विद्यमान समस्याहरू समाधानको लागि प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन्। उनले समृद्ध देश नै आफुहरुको सपना भएको बताए।

आफ्नो पेशा तथा व्यवसायको साथसाथै सामाजिक सेवामा समर्पित हुन सकेमात्र आम मान्छेको जीवनले सार्थकता पाउने महतोको भनाई छ। डा. महतोले सबै नागरिकले सरकारको मात्र भर नपरि आफ्नो व्यक्तिगत स्तरबाट पनि सामाजिक सेवाको अभियान चलाउनुपर्नेमा जोड दिए।

बुधबार क्यान्सर काउन्सिल नेपालको आयोजनामा मानवसेवा समाज खरीबोट, वनस्थलीमा संचालित ‘सुर्तीजन्य पदार्थको नकारात्मक असर, क्यान्सर तथा मुटुरोगको कारण र रोकथाम’ को बारेमा सञ्चालित जनचेतनामुलक कार्यक्रममा प्रमुख अतिथिको रूपमा मानव सेवामा समर्पित स्वयंसेवकहरूको प्रशंसा गर्दै डा. महतोले आफ्नो ठाउँबाट पनि मानव सेवाजस्तो पवित्र संस्थाहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

महतोले भने,‘मानव जीवनमा सबैभन्दा ठूलो धर्म र पुण्यको काम भनेको नै मानवको सेवा गर्न पाउनु हो। आज यहाँको आश्रममा तपाईँहरुले पुर्याउनुभएको योगदान हेर्दा म निकै नै खुशी छु। भगवानले सायद यहाँहरुलाई मानवसेवा नै गर्नको लागि पठाउनुभएको होला, म तपाईँहरुको यो सेवा भावबाट निकै नै प्रसन्न छु। म शब्दमा धन्यवाद व्यक्त गर्न सक्दिनँ, जति नै धन्यवाद ज्ञापन गरेपनि त्यो शब्द कम हुन्छ।’

उनले अनाथ, असहाय र परिवारको हेलामा परेकाहरुलाई आश्रमले दिएको आश्रय र गरेको सेवा आफैँमा ठूलो मानवसेवा भएको उल्लेख गरे। उनले आफू पनि मानवसेवा आश्रम परिवारको हिस्सा बन्न पाएको भन्दै आफूलाई भाग्यमानी ठानेको सुनाए। उनले भोलिका दिनमा आश्रमलाई सहयोग गर्ने सकेको योगदान पुर्याउने पनि विश्वास दिलाए। उनले भने,‘म छिट्टै समय मिलाएर यहाँ पुनः आउनेछु।’

साथै डा. महतोले क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र लाल कडारियालाई मानव सेवा समाजमा आएर आफ्नो विचार राख्ने अवसर दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए। स्वस्थ समाज निर्माणको लागि देशव्यापी रुपमा जनचेतनामूलक कार्यक्रम चलाउनुपर्ने उनको भनाई थियो।

समाजका समस्याहरूको समाधान नभएसम्म देश विकास नहुने बताउँदै मन, वचन र कर्मले समाज सेवामा समर्पित हुन सकेमात्र सन्तुष्टि प्राप्त गर्ने महतोको भनाई छ।

कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालको निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थ नै क्यान्सरलगायत नसर्ने रोगको प्रमुख कारण रहेको बताए। उनले स्वास्थ्य समाज निर्माणको लागि व्यापक रूपमा जनचेतना मूलक कार्यक्रममा जोड दिनुपर्ने बताए।

उनले भने,‘हाम्रो जस्तो देशमा जनचेतनामूलक काममा जोड दिन नसक्नु दुःखको कुरा हो। क्यान्सरजस्ता रागेहरू समयमा पहिचान भएमा निको हुन्छन्। हामीले स्वस्थ जीवनशैली अपनाउनुपर्छ।’

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले विभिन्न संघ÷संस्थाको सहकार्यमा जनचतेनामूलक कार्यक्रम व्यापक रुपमा संचालन गर्नुपर्ने बताए। उनले विकसित देशमा जनचेतनामूलक कार्यक्रम बढि दिएको स्मरण गराउँदै नेपालमा भने यस्ता कार्यक्रम ओझेलमा पर्नु दुःखको कुरा भएको गुनासो पोखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.