सशस्त्र प्रहरी महानिरीक्षक केसी नियमावली सच्याएर सेवा अवधि बढाउने खेलमा

डिसी नेपाल
९ वैशाख २०७९ ८:४७

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक पुष्पराम केसीले नियमावली २०७२ सच्याएर सेवा अवधि बढाउने चलखेल शुरु गरेका छन्। २१ दिनका लागि आइजीपी भएका केसीले सशस्त्र प्रहरी नियमावली ६५ को १ को ‘क’लाई सच्याएर २ वर्ष थप्ने खेल शुरु गरेका हुन्।

तत्कालीन केपी ओलीको सरकार हुँदा एमालेका उपमहासचिव विष्णु रिमालको सहयोगले आइजीपी शैलेन्द्र खनाललाई हटाउने कोसिस गरेका वर्तमान आइजीपी केसीले आफ्नो कार्यकाल लम्ब्याउन तीन दिन यता नुवाकोटका कांग्रेस नेताहरुमार्फत नियमावली परिवर्तन गर्ने कोसिसमा लागेका हुन्।

‘उहाँले नियमावली पविर्तन गर्नका लागि गृहमन्त्रालय र अर्थमन्त्रालयका रहेका अधिकारीहरुलाई कन्भिन्स गर्न खोजिरहनु भएको छ। तर अर्थले निर्वाचनको सम्मुखमा ३७ हजार प्रहरीलाई असर गर्ने गरी नियमावली परिवर्तन गर्नु उपयुक्त छैन भन्ने जवाफ दिएको छ’, स्रोतले भन्यो।

अर्थ मन्त्रालयको सकारात्मक जवाफ नपाएपछि उनी विभिन्न शक्ति केन्द्रमार्फत नियमावली परिवर्तन गर्न लागेका हुन्। ‘गृहमन्त्रालयलबाट मौखिक सहमतिका लागि अर्थ मन्त्रालयका सचिवसँग सोधिएको थियो तर अर्थले सहमति दिन अवस्था बनेको छैन, राज्य आर्थिक संकटमा परेका बेला प्रहरी सेवालाई ३२ वर्षे बनाएर झन आर्थिक बोझ बनाउने तहमा छैन भन्ने जवाफ गएको छ’, अर्थमन्त्रालय स्रोतले भन्यो।

३२ वर्षे सेवा अवधि बढाएमा समग्र सुरक्षा फौजमा असर पर्ने भएकाले त्यसलाई नबढाउन सशस्त्र प्रहरीका अधिकारीले मन्त्रालयमा आग्रह गरेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीमा लामो समयदेखि ३० वर्षे सेवा अवधि कायम रहेको छ। जसले गर्दा आइजीपी हुने सम्मुखमा रहेका प्रहरी अधिकारीहरु र स्वार्थका लागि सेवा अवधि बढाउन चाहने अधिकारीहरुबीच द्वन्द्व हुुने संभावना बढेको छ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सेवा अवधि बढाउने विषय आफूलाई जानकारी नभएको बताए। उनले यस्तो विषय हल्ला मात्रै भएको बताए। ‘हल्ला चलाउनेहरुको समूह पनि छ।’ अहिले यतिबेला गृहमन्त्रालयले सशस्त्र प्रहरी नियमावलीको नियम ३८ मा रहेको बढुवामा उपनियम २ मा बढुवा समितिले यस नियमबमोजिम हुने गरि बढुवाको सूचना प्रकाशन गर्नु पर्नेछ। यस  विषयलाइ पनि परिवर्तन गर्ने प्रस्ताव गरिरहेको छ। तर उक्त नियम आवश्यक नभएको भन्दै नियम ३८ को उपनियम २ झिक्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी नियम ४० मा बढुवाको लागि उम्मेदवार हुन चाहिने सेवा अवधि उल्लेख छ । जसमा उपनियम १ मा सशस्त्र प्रहरी सेवामा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनु पर्ने व्यहोरालाई संशोधन गर्न नियम ४० को उपनियम १ (क) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई तीन वर्षको नियम लगाइने प्रस्ताव गरिएको छ।

नियम ६५ मा रहेको अनिवार्य अवकासको उपनियम ५ पछि उपनियम ६ थप्ने भनिएको छ। थपिने उपनियममा सशस्त्र प्रहरी सेवामा बहाल रहेको सशस्त्र प्रहरी कर्मचारीले उपनियम १ को खण्ड क बमोजिम सेवा अवधि नहुँदै उपनियम १ को खण्ड ग बमोजिमको कारणबाट अनिवार्य अवकास प्राप्त गरेमा सोही उपनियमको खण्ड (ग) बमोजिम अवकास हुन बाँकी उमेर अवधिसमेत निजले गरेको नोकरी अवधिमा थप गरी निजले पाउने निवृत्तिभरणको हिसाब गरिने भनेर संशोधन प्रस्ताव गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *