उम्मेदवारी फिर्ता लिएपछि बर्दिबासमामा चुनावी समीकरण फेरियो
महोत्तरी। महोत्तरीमा केही उम्मेदवारले मनोनयन फिर्ता लिएपछि चुनावी समीकरण पनि फेरिएको छ। १५ वटै पालिकामा गरी शुक्रबार ६६ जनाभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका थिए। उम्मेदवारी फिर्ता लिनेमा कतिपय एउटै पार्टीबाट बागी उम्मेदवार बनेका छन् भने कतिपय पाटीकै नगरप्रमुख, उपप्रमुख छन्।
बर्दिबास नगरपालिकामा चुनावी समीकरण प्रभावित बनेको छ। पाटीभित्रैबाट राम्रो जनधार भएका नेताले बागी उम्मेदवार दिएपछि सोहीअनुसार तयारी गरेका दल नयाँ रणनीतिमा जुटेका थिए।
नगरको मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस र माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेपछि यी दल समस्यामा परेका थिए। तर, माओवादी केन्द्रबाट बागी उम्मेदवार दिएका रुद्र सुस्लिङ्ग मगरले उम्मेदवारी फिर्ता लिए भने कांग्रेसबाट बागी उम्मेदवार बनेका प्रल्हाद क्षेत्रीले फिर्ता लिएनन्।
कांग्रेसभित्रै चिरञ्जीवी हमाल पाटीको आधिकारिक उम्मेदवार र प्रल्हाद क्षेत्री बागी उम्मेदवार बनेपछि कांग्रेस कमजाेर बनेकाे छ। बरु अब माओवादी र एमालेबीच प्रतिस्पर्धा हुने ठानिएकाे छ।
मगरले उम्मेदवार फिर्ता लिएको केही समय नबित्दै लोसपाले स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीसँग गठबन्धन गर्ने निर्णय गरेको छ। यसैका लागि लोसपाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका चेतकुमार थापा र उपप्रमुखका लागि उम्मेदवारी दिएका रामगुनकुमारी महतोले फिर्ता गरेका छन्।
निर्वाचन आयोगवाट घोडा छाप पाएका क्षेत्रीले प्रचारप्रसार गर्ने र सम्भावना रहेका दलसँग गठबन्धन प्रक्रियालाई अगाडि बढाएका छन्।
अघिल्लो निर्वाचनमा पनि क्षेत्री नै उम्मेदवार बनेका थिए। झण्डै ११ सय मतले उनी माओवादी केन्द्रसँग पराजित बनेका थिए। प्रदेशको चुनावमा पनि क्षेत्री पराजित उम्मेदवार बनेका थिए। प्रदेशमा एमालेबाट सारदादेवी थापाले जित हासिल गरेकी थिइन्।
जिल्लामा ७२० पदका लागि ४२ सयभन्दा बढी प्रतिस्पर्धामा छन्।







डिसी नेपाल








Facebook Comment