मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले मागे मत

डिसी नेपाल
२७ वैशाख २०७९ १३:३३
176
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन्। मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका हुन्।

‘सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न आह्‍वान गर्दछु’, देउवाले भनेका छन्।

अपिलमा उनले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको बताएका छन्। स्थानीय तह सङ्‍घीय शासन प्रणालीको आधारस्तम्भ पनि भएको उनको भनाइ छ।

हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्रको रूपमा पनि स्थानीय सरकार भएको भन्दै देउवाले निरन्तर लोकतान्त्रिक सङ्‍घर्षको यात्रामा रहेको कांग्रेसका उम्मेदवारहरूलाई मत दिन आग्रह गरेका हुन्।

उनले कांग्रेसलाई आम नेपाली नागरिकको ढुकढुकी भएको पार्टी रूपमा पनि चित्रण गरे। ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’, ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्‍नत नगर’ नारा लिएर निर्वाचन अभियानमा रहेको कांग्रेस उम्मेदवारहरूलाई ‘रुख’ चिह्नमा मतदान गर्न प्रधानमन्त्रीसमेत रहेका देउवाको आग्रह छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.