स्थानीय तह निर्वाचन : कुन नेताले कहाँबाट गर्दैछन् मतदान?
काठमाडौं। शुक्रबार हुने स्थानीय तह निर्वाचनमा देशका शिर्ष नेताहरु मतदान गर्न आफ्नो गृह जिल्ला लागिसकेका छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिन यता गृहजिल्ला डडेल्धुरामा रहेका छन्।
चुनावी अभियानका क्रममा डडेल्धुरा पुगेका देउवा भोलि मतदान गरेर मात्र काठमाडौं फर्कने जनाइएको छ। उनले गन्यापधुरा गाउँपालिका १आसिग्राममा मतदान केन्द्रबाट मतदान गर्नेछन्।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संसदीय निर्वाचन क्षेत्र झापा ५ भएपनि उनको मतदाता नामावली भक्तपुर सुर्यविनायक नगरपालिकाको बालकोटमा रहेको छ। ओलीले त्यहीँबाट मतदान गर्नेछन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नं १४, शान्तिपुरबाट मतदान गर्नेछन्। प्रचण्ड संसदीय निर्वाचनमा पनि चितवनबाट नै प्रतिनिधित्व गर्छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका वडा नम्वर २ मा मतदान गर्नेछन्। तर उनको संसदीय निर्वाचन क्षेत्र भने काठमाडौं क्षेत्र नम्वर २ रहेको छ।
त्यस्तै अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले इलामको सुर्योदय नगरपालिका वडा नम्वर १ मा मतदान गर्नेछन्।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षले उपेन्द्र यादवले स्नातकोत्तर क्याम्पस, विराटनगर मोरङको मतदानस्थलमा मतदान गर्नेछन्। तर उनको पनि संसदीय निर्वाचन क्षेत्र सप्तरी रहेको छ।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नम्वर १ मा मतदान गर्नेछन्। भट्टराईले संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट नै प्रतिनिधित्व गर्छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भने सर्लाहीको बलरा नगरपालिकाबाट मतदान गर्नेछन्।







डिसी नेपाल








Facebook Comment