चीनमा कोरोनाले आगामी २ महिनामा १६ लाख मानिसको मृत्यु हुनसक्ने चीनकै विज्ञको प्रक्षेपण

डिसी नेपाल
२९ वैशाख २०७९ १३:२४

काठमाडौं । कोरोनाको ओमिक्रोन भेरियन्टले चीनमा कहर मच्चाइरहेको छ तर अब यहाँ संक्रमणको ‘सुनामी’ आउने सम्भावना छ । चीनको सांघाइस्थित फुडान युनिभर्सिटीले गरेको एक अध्ययनले यदि चीनले आफ्नो शून्य-कोविड नीति खुकुलो पार्यो भने जुलाईसम्ममा १६ लाखभन्दा बढीको मृत्यु हुनसक्ने अनुमान गरेको छ।

फुडान विश्वविद्यालयको यो अध्ययनलाई उद्धृत गर्दै ब्लूमबर्गले लेखेअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनलाई शून्य कोभिड नीतिभन्दा संक्रमण रोक्नको लागि फरक तरिका अपनाउन आग्रह गरेको बेला आएको हो । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो ।

सन् २०२० मा विश्वभर कोरोना फैलिन थालेपछि चीनले यसलाई नियन्त्रण गरेको दाबी गरेको थियो । सन् २०२१ मा पनि डेल्टा भेरियन्ट खुलासा हुँदा पनि चीनले १४ दिनमा नियन्त्रण गरेको दाबी गरेको थियो । तर अहिले ओमिक्रोन भेरियन्टले चीनको अवस्था झन खराब बनाएको छ । ओमिक्रोन डेल्टा भन्दा धेरै गुणा बढी संक्रामक छ र त्यसैले स्वास्थ्य अधिकारीहरूलाई यसलाई रोक्न निकै कठिन भएको छ ।

चीनको सबैभन्दा खराब अवस्था सांघाईमा छ। यहाँ ६ सातादेखि कडा लकडाउन गरिएको छ । २५ करोडभन्दा बढी मानिस लकडाउनमा बाँचिरहेका छन् । पूरै चीनमा ४०० मिलियन भन्दा बढी मानिसहरू छन् जो कुनै न कुनै प्रतिबन्धमा बाँचिरहेका छन्।

चीनमा ओमिक्रोनबाट जारी विनाशको बीचमा फुडान विश्वविद्यालयको अध्ययनले चिन्ता थपेको छ। फुडान युनिभर्सिटीले शून्य कोभिड नीति खुकुलो बनाएमा जुलाईसम्ममा १६ लाखभन्दा बढीको मृत्यु हुन सक्ने बताएको छ । यति धेरै मृत्यु भयो भने अन्तिम संस्कारको लागि ठाउँ कम हुन सक्छ।

मार्चमा सुरु गरिएको खोप अभियान ओमिक्रोनको लहरलाई रोक्न आवश्यक प्रतिरोधात्मक क्षमता निर्माण गर्न पर्याप्त नभएको अध्ययनमा उल्लेख छ । तर, खोपको गति बढाएर मृत्युदर घटाउन सकिने अनुसन्धानकर्ताहरू बताउँछन् । अनुसन्धानकर्ताहरूका अनुसार ओमिक्रोन लहरबाट हुने मृत्युमध्ये एक तिहाइ ६० वर्षभन्दा माथिका वृद्ध र खोप नदिइएका व्यक्तिहरू हुन सक्छन् । चीनमा अझै पनि ६० वर्ष वा माथिका ५ करोड वृद्धवृद्धाले खोप लिएका छैनन् ।

फुडान युनिभर्सिटीले कम्प्युटर मोडलबाट कोभिड प्रतिबन्धहरू खुकुलो भएमा कोरोनाको ‘सुनामी’ निम्त्याउन सक्ने अनुमान गरेको छ । अध्ययनका अनुसार कोविड प्रतिबन्धहरू खुकुलो हुँदा मे र जुलाईको बीचमा ओमिक्रोन लहर तीव्र हुनेछ।

यदि यस्तो भयो भने यस अवधिमा ११.२२ करोड भन्दा बढी केसहरू रिपोर्ट हुनेछन् र ५१ लाख भन्दा बढी बिरामीहरूलाई अस्पतालमा भर्ना गर्नुपर्नेछ। फुडान युनिभर्सिटीले ओमिक्रोन लहरले चीनको स्वास्थ्य प्रणालीमा १६ गुणाले बोझ बढाउने बताएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडनोम घेब्रेयससले चीनको शून्य-कोविड नीतिमाथि प्रश्न उठाएका छन्। जेनेभामा आयोजित पत्रकार सम्मेलनमा टेड्रोसले भाइरसले आफ्नो प्रकृति बदलिँदै गएको र थप संक्रामक बन्दै गएको भन्दै अब यसको रोकथामका उपाय पनि परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने, ‘जहाँसम्म शून्य कोभिड नीतिको सवाल छ, हामीलाई यो धेरै दिगो नीति हो जस्तो लाग्दैन । उनले भाइरसको बदलिँदो प्रकृतिका कारण अब उपाय पनि परिवर्तन गर्नुपर्ने र आगामी दिनमा शून्य कोभिड नीति दिगो नहुने बताए ।

टेड्रोसको यो भनाइमा चीनले पनि जवाफ दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले प्रतिक्रिया दिएका थिए कि उनले (टेड्रोस) यस्तो गैरजिम्मेवार टिप्पणी गर्नबाट टाढा रहनुपर्छ। उनले जतिसुकै गाह्रो भए पनि यो भाइरस नियन्त्रणमा चीनको जनता र सरकार पूर्ण विश्वस्त रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *