‘स्मार्टफोन भएकाले म जेल पर्नबाट जोगिएँ’

डिसी नेपाल
३ जेठ २०७९ १२:१३
176
Shares

कोलम्बो (बीबीसी) । के दमनविरुद्ध मोबाइल फोन एक अस्त्रको रूपमा प्रयोग हुन सक्छ? सवा दुई करोड जनसङ्ख्या अनि प्रत्येक १०० जनामध्ये १३५ सक्रिय ग्राहक भएको देशमा यसले तपाइँको ज्यान जोगाउन सक्छ? श्रीलङ्कामा सरकारविरोधी प्रदर्शनहरूमा सहभागी युवाहरूको जबाफ छ: हो, सक्छ।

“प्रत्येक पटक विरोध प्रदर्शनमा सहभागी हुँदा हामी सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्छौँ वा पछि ती भिडिओ त्यहाँ हाल्छौँ,” मेलानी गुणतिलकले भनिन्।

“स्मार्टफोनमा रहेको मल्टीमिडिया क्षमता अनि फेसबुक, यूट्यूब र टिकटकजस्ता सामाजिक सञ्जालले हामीले जानीबुझी आएको प्रजातन्त्रलाई नै पुनर्व्याख्या गरिदिएको छ,” डिजिटल मिडिया विश्लेषक नालका गुणवर्दनले भने।

चर्को महँगी अनि इन्धन र खानेकुराको अभाव हुन थालेपछि श्रीलङ्काभरि राष्ट्रपति गोटाबय राजपक्षको राजीनामा माग्दै विरोध प्रदर्शनहरू भइरहेका छन्।

मेलानीलाई लाग्छ प्रदर्शनको दृश्य लाइभ-स्ट्रीम अर्थात् सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रसारण गरेर आफू र अन्य प्रदर्शनकारीहरू जेल पर्नबाट जोगिएका छन्।

“राष्ट्रपतिविरुद्ध सांसदहरूलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गराउन हामीले संसद्‍नजिकै शान्तिपूर्ण प्रदर्शन गर्‍यौँ।”

“एक वरिष्ठ प्रहरी अधिकृत हामीनजिकै आए अनि हामीलाई हटाउन अदालतको आदेश भएको बताए…। हामी लाइभ-स्ट्रीम गर्दै थियौँ। हामीले त्यो आदेश हेर्न चाह्यौँ। उनले प्रष्ट जबाफ दिएनन्।”

“प्रहरीको एउटा बस… हामीसामु आएर रोकियो। हामीलाई बसमा राखियो। हामी दुई जनाले लाइभ-स्ट्रीम गरिरहेका थियौँ।”

“सामाजिक सञ्जालमा खबर फैलियो। हाम्रो पक्षमा उभिन अदालतमा २०० वकिल भेला भए।”

मेलानी तथा अन्यको सहायतामा स्वतःस्फूर्त आइपुगेका युवा वकिलहरूमध्ये सुपुन रणवीर पनि हुन्।

फेसबुक लाइभले मेलानी तथा अरू व्यक्ति निर्दोष भएको प्रमाणित गर्न सघाएको बताए।

“प्रहरी अधिकारीले प्रदर्शनकारीहरूलाई हटाउन अदालतको आदेश भएको बताएका थिए। फेसबुक लाइभमा रेकर्ड भएको उक्त भनाइ गलत थियो। हामीले मजिस्ट्रेटसामु त्यसलाई प्रमाणको रूपमा प्रस्तुत गर्‍यौँ।”

सोही दिन अबेर अदालतले मेलानी र अन्यलाई रिहा गरिदियो।

श्रीलङ्का प्रहरीका प्रवक्ता एसएसपी निहाल तल्दुवाले उक्त घटनाबारे जानकारी दिन केही समय लाग्ने बताए र त्यसपछि सोझै त्यसको प्रतिक्रिया दिएनन्।

बरु उनले प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा कहिल्यै हस्तक्षेप नगरेको बीबीसीलाई बताए।

कोलोम्बोस्थित राष्ट्रपतिको कार्यालयनजिकै समुद्री तटस्थित गेल फेसमा हजारौँ युवा प्रदर्शनकारी बसिरहेका छन्।

उनीहरूले राष्ट्रपतिको राजीनामा मागेका छन्। त्यो ठाउँलाई उनीहरूले “गोटा-गो-गामा” नाम दिएका छन्। त्यसको अर्थ हुन्छः गोटा, गाउँ जाऊ।

रणवीरजस्ता युवा वकिलहरू पनि त्यहीँ छन्।

मे ९ मा सयौँ सरकार समर्थकहरूले प्रधानमन्त्री महिन्द राजपक्षसँग उनको सरकारी निवासमा भेटेलगत्तै शान्तिपूर्ण प्रदर्शनकारीहरूविरुद्ध आक्रमण गरे।

लाइभ-स्ट्रीमिङका रेकर्डसहित भिडिओहरूमा आक्रमणको दृश्य देख्न सकिन्छ।

राजपक्षका समर्थकहरूले एकजना प्रदर्शनकारी प्रियाङ्ग विश्वजितलाई हमला गरे। त्यतिखेर उनी भिडिओ खिचिरहेका थिए।

सामाजिक सञ्जालमा राखिएका कतिपय भिडिओको सहारामा उनी आक्रमणकारीहरूको पहिचान गर्न खोज्दै छन्।

श्रीलङ्काको मानवाधिकार आयोग, बार असोसीएशन तथा विदेशी कूटनीतिज्ञहरूले आक्रमणको निन्दा गरेका छन् अनि स्वतन्त्र अनुसन्धान गर्न आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको मानवाधिकार उच्चायुक्त मिशेल ब्याशलेटले श्रीलङ्काका अधिकारीहरूलाई थप हिंसा हुन नदिन अनि जनताको गुनासो संयमपूर्वक तथा अर्थपूर्ण वार्तामार्फत् सुल्झाउन भनेकी छन्।

रणवीर भन्छन् सरकारी निकायहरूप्रति बढ्दो अविश्वासका कारण यस्ता भिडिओहरू बनिरहेका छन्।

“कुनै विषय उठे प्रदर्शनकारीहरूसँग प्रष्ट प्रमाणको आवश्यकता पर्छ…।”

“अवैध क्रियाकलापमा नलागेका प्रदर्शनकारीहरू पनि कैयौँ पटक बिनाकारण पक्राउ परेका थिए। उनीहरूलाई पछि अदालतले रिहा गरिदियो। त्यस्ता कैयौँ मामिलामा मोबाइल फोनमा रेकर्ड गरिएका भिडिओ प्रमाणका रूपमा प्रयोग भएका थिए,” रणवीरले भने।

इन्धन अभाव तथा बिजुली कटौतीका माझ प्रदर्शनकारीहरू मार्च ३१ मा राष्ट्रपति राजपक्षको निजी निवासनजिकै भेला भए।

छेउमा रोकेर राखिएको बसमा आगजनी भयो।

प्रदर्शनकारीहरूले उक्त आक्रमणका पछाडि सरकार समर्थकहरू रहेको आरोप लगाए।

उनीहरूले एक व्यक्तिले छेउमै प्रहरी हुँदाहुँदै आगजनी गरेको लाइभ-स्ट्रीम भिडिओ प्रस्तुत गरे।

“राष्ट्रपतिको सञ्चार एकाइले अतिवादीहरूको समूहले आक्रमण गरेको वक्तव्य जारी गरेको थियो,” रणवीरले भने। “तर भिडिओमा प्रष्ट प्रमाण देखिएपछि प्रहरीले आगजनी गर्ने व्यक्ति खोज्न तस्बिर प्रकाशित गर्नुपर्‍यो। ती भिडिओ नभएका भए शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई अतिवादीको सङ्ज्ञा दिइन्थ्यो।”

विश्वमै सबभन्दा धेरै जबरजस्ती नागरिक बेपत्ता पारिने देशमध्ये श्रीलङ्का पर्ने एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ। सन् १९८० यताका आन्तरिक द्वन्द्वकालमा त्यहाँ ६०,०००देखि एक लाख मानिस बेपत्ता पारिएको बताइन्छ।

श्रीलङ्काको इतिहास रक्तपातपूर्ण भए पनि जनताको सुरक्षाफौजप्रति विश्वास हराएको भन्ने टिप्पणीलाई प्रहरी प्रवक्ता निहाल तल्दुवाले अस्वीकार गरे।

“समस्या हुनेबित्तिकै मानिसहरू दौडिएर प्रहरीकहाँ आइपुग्छन्। विश्वास नभएको भए उनीहरू आउँदैथे होला।”

प्रहरीले सधैँ उचित प्रक्रिया र मापदण्डको पालना गर्ने उनले बताए।

कतिपय मामिलामा मानिसहरूले केवल प्रहरीलाई दु:ख दिन मोबाइल फोनको प्रयोग गरेको उनले बताए।

“यदि तपाईँले कुनै गलत काम गर्नुभएको छैन भने अदालतमा भन्न सक्नुहुन्छ। तर केही मानिस भिडिओको कुनै अंशमात्र प्रसारण गर्छन्, वास्तविक घटना पूरै नदेखाईकन।”

सन् १९८८ र १९९०को बीचमा दक्षिणी श्रीलङ्कामा सेनासँग सम्बन्ध भएका “हत्यारा टोलीहरू” ले ६०,००० जनासम्म मानिसको हत्या गरेको मानवअधिकारवादी संस्था ह्यूमन राइट्स वाचले जनाएको छ।

त्यतिखेर मार्क्सवादी तथा राष्ट्रवादी जनता विमुक्ति पेरामुनाले गरेको विद्रोहलाई सरकारले दमन गरेको थियो।

युवा पुरुषहरूको शरीर टायरमा जलाइएको थियो भने कैयौँ मानिसलाई बिनासुनुवाइ जेलमा हालिएको थियो।

बदलामा जनता विमुक्ति पेरामुनाले सयौँ राजनीतिक प्रतिद्वन्द्वी तथा सरकारी अधिकारीहरूलाई मारेको थियो।

अवकाशप्राप्त लेक्चरर दयापाल तिरणगामले सन् १९७० यता थुप्रै प्रदर्शनहरूमा भाग लिए। पाँच वर्षभन्दा धेरै जेलमा बिताए।

सन् १९८० ताका त्यसरी विरोधमा बाहिर निस्किनु निकै खतरनाक हुने गरेको उनी सुनाउँछन्।

“मोबाइल फोन थिएन। केवल ल्यान्डलाइन थियो..।”

“कुनै मित्रलाई भेट्न गएमा ठूलै समस्यामा परिन्थ्यो…। फोनमा गरेका कुराकानी ट्याप गरेर सुन्थे।”

“सन्देशहरू गोप्य किसिमले थोरै लेखेर पठाउनुपर्थ्यो। मोबाइलको तुलनामा त्यो सुरक्षित थियो। तपाईँको ठाउँ त्यसबाट खुल्दैन थियो… अहिले जस्तो।”

“अचेल कुनै गोप्य राजनीतिक आन्दोलनको आवश्यकता छैन। आजको राजनीति धेरै परिवर्तन भएको छ।”

“श्रीलङ्काका गाउँ, नगर तथा सहरहरूमा दशौँ लाख स्मार्टफोन प्रयोग भइरहेका छन्,” डिजटल मिडिया विश्लेषक नालका गुणवर्दनले भने।

मल्टीमिडिया अभियानहरूले “राजनीतिक दल, ट्रेड यूनियन वा विद्यार्थी यूनियनमा आबद्ध नभएकाहरूका निम्ति समेत नयाँ प्रकारको प्रत्यक्ष नागरिक सहभागिताको बाटो खुलेको छ,” उनी भन्छन्।

सुपुन रणवीरजस्ता युवा श्रीलङ्कालीहरू अघिल्ला पुस्ताले भोग्नुपरेका चुनौती बुझ्ने प्रयासमा छन्।

अनि हिजोआजका घटना विगतमा भएका भए कसरी व्यवहार हुन्थ्यो होला भनेर पनि जान्न खोज्दै छन्।

“म सन् १९८० को दशकको अन्त्यतिर जन्मिएको हुँ। त्यतिखेर राज्यको चर्को दमन थियो। यदि हामीसँग आधुनिक प्रविधि र स्रोत हुँदैनथ्यो भने हामीले पनि विगतकै जस्तो दमन झेल्नुपर्ने हुनसक्थ्यो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *