साउदी अरेबियाले उठायो महिलाहरूको लागि अर्को ठूलो कदम, दियो ठूलो जिम्मेवारी

डिसी नेपाल
२२ असार २०७९ १५:१३

काठमाडौं । महिला अधिकारको दमन गरेको भन्दै मानवअधिकारकर्मीको निशानामा रहेको साउदी अरबले हालैका वर्षहरूमा महिलाका लागि धेरै सुधार गरेको छ। अब साउदी राजा सलमान बिन अब्दुल अजिज अल साउदले मन्त्रिपरिषद्मा पनि महिलालाई स्थान दिन थालेका छन् ।

साउदीले यसपटक आफ्नो मन्त्रिपरिषद्मा परिवर्तन गर्दा हाइफा बिन्त मोहम्मद र शिहाना अलजाज नामका दुई महिलालाई मन्त्रिपरिषद्को सदस्य बनाएको छ । राजा सलमानले राजकुमारी हाइफा बिन्त मोहम्मदलाई साउदी अरबको पर्यटन उपमन्त्री र शिहाना अल्जाजलाई मन्त्रिपरिषद्को उपमहासचिवमा नियुक्त गरेका छन्। आइतबार राजा सलमानको तर्फबाट शाही आदेश जारी गर्दै यस्तो घोषणा गरिएको हो ।

अल्जाज साउदी अरबमा वकिल बन्ने पहिलो महिला मध्ये एक थिइन्। उनले बेलायतको डरहम युनिभर्सिटीबाट कानूनको अध्ययन गरेकी थिइन् । उनले सरकारी लगानी कोषमा वकिलको रुपमा काम गरेकी छिन् । फोर्ब्स मिडल इस्टले सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा अल्जाजलाई समावेश गरेको छ ।

यस्तै, राजकुमारी हाइफा अल साउदको बारेमा कुरा गर्दा उनले अमेरिकाको न्यु हेभेन विश्वविद्यालयमा बिजनेस एडमिनिस्ट्रेशन पढेकी छिन् । उनले बेलायतको लण्डन बिजनेस स्कुलबाट एमबीए पनि गरेकी छिन् ।

राजकुमारी हाइफा सन् २०१४ मा स्थापित गैर-लाभकारी संस्था द एम्पावरमेन्ट हबका संस्थापक सदस्यहरूमध्ये एक हुन्। यो गैरसरकारी संस्थाले महिला स्वास्थ्य सम्बन्धी मुद्दाहरूमा चेतना फैलाउने काम गर्छ। पर्यटन उपमन्त्री हुनुका साथै राजकुमारी हाइफा नागरिक उड्डयन प्राधिकरण, पर्यटन विकास कोष र पर्यटन विकास परिषद्को सञ्चालक समितिमा पनि छिन् ।

साउदी अरेबियाको राजगद्दीका दावेदार युवराज मोहम्मद बिन सलमानले महिला अधिकारको क्षेत्रमा धेरै ठूलो काम गरेका छन् । यसअघि साउदी अरबमा महिलालाई गाडी चलाउन अनुमति थिएन। यसबारे धेरै महिलाले विरोध गरेपछि सन् २०१८ मा साउदी महिलाले गाडी चलाउन अनुमति पाएका थिए । तर, ड्राइभिङको अधिकारका लागि लडेका धेरै महिला जेल परेका थिए, जसका कारण राजकुमार सलमानले निकै आलोचना पनि बेहोर्नुपरेको थियो ।

साउदी महिलालाई पहिले बाहिर काम गर्न पनि अनुमति थिएन, तर अब साउदीमा सबै नागरिकलाई कुनै पनि लिंग भेदभाव बिना काम गर्ने अधिकार छ। यसअघि महिलाले घरका पुरुषको स्वीकृतिबिना विदेश जान पाउँदैनथे, तर सन् २०१९ मा साउदी महिलालाई कुनै पनि पुरुष आफन्तको अनुमतिबिना राहदानीका लागि आवेदन दिन अनुमति दिइएको थियो । अब २१ वर्षभन्दा माथिका साउदी महिलाले चाहेको ठाउँमा जान पाउँछन् ।

साउदी अरबले भर्खरै सार्वजनिक स्थानहरूमा महिलाहरूले हिजाब लगाउनु पर्ने शर्त पनि खारेज गरेको छ। अहिले त्यहाँका महिलाहरु हिजाब बिना र कपाल नढाकी सार्वजनिक स्थलहरुमा देखिने गरेका छन् । उनीहरू हिजाब बिना अफिस लगायतका ठाउँमा जान्छन् ।

क्राउन प्रिन्स मोहम्मद बिन सलमानले देशलाई आधुनिकीकरण गर्ने योजनाको रूपमा यो सबै गरिरहेको बताएका छन्। उनी भन्छन् कि यी महिला सुधारहरू उनको ‘भिजन २०३०’ को एक हिस्सा हो जस अन्तर्गत उनी साउदी अरबलाई उदार इस्लामिक देश बनाउन चाहन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *