त्यो ‘मदिरामय रात’ जसको विवरण पत्रकारले सार्वजनिक गरेपछि बेलायतका मन्त्रीको राजीनामाको लहर चल्यो

डिसी नेपाल
२३ असार २०७९ ८:४१
396
Shares

लन्डन। बेलायतको प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनको भविष्य पहिलेको भन्दा ठूलो जोखिममा छ। यौन दुव्र्यवहारको आरोप लागेका कन्जरभेटिभ सांसदबारे प्रधान्मन्त्रीको ‘ह्यान्डलिङ’लाई लिएर मंगलबार स्वास्थ्यमन्त्री र अर्थमन्त्रीले १० मिनेटको अन्तरमा राजीनामा दिएपछि महिनौंदेखिको राजनीतिक अस्थिरता बुधबार आएर अचानक बढेको थियो।

बुधबार साँझसम्म कनिष्ठ मन्त्री र सांसदहरूको राजीनामा र अविश्वासको पत्रको ‘बाढी’ आएको थियो।

बुधबार साँझ नै वरिष्ठ मन्त्रीहरूको एउटा समूह प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट पुगेर प्रधानमन्त्री जोनसनलाई राजीनामा दिन कर गरे । तर, पछिल्लो चुनावमा मतदाताहरूबाट पाएको ‘ठूलो जनादेश’ सम्मान गर्दै आफूले राजीनामा नदिने अडान लिए। बरु, राजीनमा दिन सुझाव दिने एक मन्त्रीलाई नै प्रधानमन्त्रीले बर्खास्त गरे।

वेस्टमिनिस्टरमा त्यो मदिरा रात
एक साताअघि कन्जरभेटिभ सांसद क्रिस पिन्चरले कार्लटन प्राइभेट मेम्बर्स क्लबममा आयोजित मदिरा पार्टीपछि ह्विपको भूमिकाबाट राजीनामा दिएका थिए। राजीनामा पत्रमा क्रिस पिन्चरले आफूले ‘धेरै पिएको’ र यसले आफू र मानिसहरूलाई लज्जित तुल्याएको प्रधानमन्त्रीलाई बताएका छन्। तर, विषय धेरै गम्भीर थियो । एक निजी सदस्यको क्लबमा दुई जना पुरुषहरूलाई समातेको पिन्चरमाथि आरोप छ। उनले कम्तिमा एकजनालाई कम्मर र तिघ्राको बीचमा छोएको बताइएको छ।

त्यसपछि दुई ओटा घटना भएका थिए। पिन्चरले आफूले नराम्रो व्यवहार गरेको महसुस गरेकाले उनलाई संसदबाट बर्खास्त गर्नु नपर्ने र उनलाई कारबाहीको नगर्ने सरकारले सञ्चार माध्यममा ब्रिफिङ गर्‍याे।

दुर्व्यवहार गर्ने सांसदलाई बचाउ गरेपछि कन्जरभेटिभ सांसद प्रधानमन्त्रीसँग क्रुद्ध बनेका थिए। पिन्चरविरुद्ध विगतमा पनि यौन दुर्व्यवहारको यस्तै आरोप लागेको थियो । यद्यपि, जोन्सनले उनलाई पार्टीको उपप्रमुख सचेतकको रूपमा राखिरहे।

पछिल्लो मदिरा रातमा भएको यौन दुर्व्यवहारको खुलासा प्रसिद्ध पत्रिका सनकी राजनीतिक पत्रकार नोआ होफम्यानले बिहीबार सार्वजनिक गरेकी थिइन्। २४ वर्षीया होफम्यान सो खुलासा गर्नु चार दिनअघि मात्र राजनीतिक पत्रकारका रूपमा सनमा नियुक्त भएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *