अस्ट्रेलियासँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै चीन

डिसी नेपाल
२६ असार २०७९ १६:४८

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले इन्डोनेसियामा भएको जी-२० सम्मेलनको छेउमा अस्ट्रेलियाली समकक्षी पेनी वोङसँग भेटवार्ता गरेका छन् ।

भेटमा दुवै पक्षले आफ्नो द्विपक्षीय सम्बन्धलाई सही बाटोमा ल्याउन र अवरोध हटाउन सहमत भएका छन् । चीनको आधिकारिक समाचार च्यानल सीजीटीएनले यस बैठकको जानकारी दिएको छ।

सीजीटीएनका अनुसार वाङ यीले चीन-अष्ट्रेलिया सम्बन्धले चुनौती र अवसर दुवै सामना गरेको बताए। दुई देशबीचको सुमधुर सम्बन्धले एसिया-प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न मद्दत गर्ने उनले बताए।

उनले पारस्परिक सम्मानमा आधारित द्विपक्षीय सम्बन्धलाई पुनर्विचार गर्न र सही बाटोमा ल्याउने प्रयास गर्न चीन इच्छुक रहेको बताए।

सीजीटीएनका अनुसार वाङ यीले अष्ट्रेलियाको नयाँ सरकारले दुई देशबीचको सम्बन्धलाई थप स्थिर र पारस्परिक रूपमा लाभदायी बनाउने आशा राखेको बताए। अष्ट्रेलियाको चीनसँग मतभेद बढाउने कुनै मनसाय छैन भन्ने उनले अपेक्षा व्यक्त गरे ।

अष्ट्रेलियाको पुरानो सरकारलाई निशाना बनाउँदै वाङ्ग यीले केही वर्षयता दुई देशबीचको तनावपूर्ण सम्बन्धका लागि पुरानो सरकारले चीनलाई प्रतिद्वन्द्वी वा धम्कीका रूपमा हेर्ने दृष्टिकोण जिम्मेवार रहेको बताए ।

यस वर्षको मे महिनामा अस्ट्रेलियामा संघीय चुनाव भएको थियो जसमा लेबर पार्टीले जित हासिल गरेको थियो। यसअघि कन्जरभेटिभ पार्टीका स्कट मोरिसन अस्ट्रेलियाका प्रधानमन्त्री थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *