माझी कर्मबिहीन माझीटार

डिसी नेपाल
२९ असार २०७९ ८:३९
128
Shares

पाँचथर। तत्कालीन फिदिम गाउँ पञ्चायत वडा नम्बर ९ को माझीटारका नरे माझीको दैनिकी भनेकै बल्छी र ढडिया थाप्दै माछा मार्ने काम थियो। यो कर्म उनी र उनको अर्काे पुस्तासम्मले गर्न भ्याए।

मेची र कोशी अञ्चलको सीमा तमोर नदी कीनारमा बसोबास गर्ने करिव १० परिवार माझीको दैनिकी नै माछा मार्ने र तमोर नदीमा तेह्रथुमतर्फका मानिसलाई पाँचथरतर्फ र पाँचथरतर्फका मानिसलाई तेह्रथुमतर्फ तार्नु थियो।

‘सखुवाको ठूलो रुखलाई डुँडको आकार दिएर उनीहरु नाउ बनाउँथे । एक जना मानिस खोलो तारेवापत २५ पैसा लिन्थे।’ हालको फिदिम नगरपालिका वडा नम्बर ४ अर्थात पहिलोको फिदिम गाउँपञ्चायत वडा नम्बर ९ का ७५ वर्र्षीय नारायणप्रसाद सुवेदी स्मरण गर्छन्।

सुवेदीका अनुसार नरे माझीहरु बल्छी र ढडिया थापेर माछा मार्दै ती माछा बेच्न फिदिम, जोरसाल, थाक्ले, छेरुवा, गडीडाँडासम्म आउँथे।
ती माझी परिवारले तमोरमा मानिस तार्न भने पालो बाँध्थे। एक दिन २ जनाले र अर्काे दिन अरु नै २ जनाले मानिसहरु तार्ने र त्यसवापतको पैसाले घर खर्च चलाउँथे।

तेह्रथुमको आठराई क्षेत्र (१२ गाउँ पञ्चायत) र पाँचथरको फिदिम जोड्ने तमोर नदीमा माझीटारदेखि करिव २ घण्टामाथि सिटौला झोलुङे पुल थियो। त्यहाँसम्म हिडेर गए पनि आठराई क्षेत्रको चुहानडाँडातर्फ पुनः घुम्नु पर्ने भएकोले अधिकांश माझीको भरमा तमोर नदीको डुंगा नै तर्थे।

हेवा र तमोरको संगम स्थल माझीटारका ती माझीहरु माछा मारेपछि मारेका माछा दिएर अन्न साट्थे। करिव डेढ किलो अर्थात एक बिसौली माछावापत २ पाथीसम्म (१६ माना) मकै वा धान लिन्थे। यसरी नाउ वा डुंगा चलाएर कमाएको पैसा र माछा साटेर ल्याएको अन्नले उनीहरुको गुजारा हुने थरेको नरे माझीका सन्तान शंकर माझीले इतिहास सम्झिए।

माझीटारको यस्तो बिगत अहिले पूरै परिवर्तन भएको छ। झापाको चारआलीदेखि सुरु भएको मेची राजमार्ग इलाम, फिदिमहुँदै ताप्लेजुङ पुग्यो। फिदिम खण्डको जोरसालबाट शान्तिपुर, थाक्ले, सरखण्डैहुँदै माझीटार सडक खनियो।

२०५६ ताका सडकको डोबले माझीटार छोयो। अनि तमोर नदीमा पक्की पुल पनि बन्यो। अनि झापादेखि सोझै आठराई गाडी चल्न थाले । अब न माझीको नाउ वा डुंगा रह्यो न खोलामा माछा मार्ने सन्तती नै भए।

पछिल्लो पुस्ता पढाइ र साक्षर बन्दै गएपछि माछा मार्ने काम प्रायः बन्दजस्तै छ। ‘यदाकता कसैले जाल थापेर माछा मार्छन् तर त्यो काम सधंै हुन्न ।’ माझीटारमै होटल व्यवसाय गर्दै आएका रमेश तामाङले भने।

उनका अनुसार माझी युवाहरु तमोर करिडोर, स्थानीय योजनाहरुमा श्रम गर्नतर्फ लागेका छन् । ‘अब माछा मार्ने र त्यसैबाट गुजारा गर्ने भन्ने त इतिहास भयो ’खड्गबहादुर माझीले भने।

माझीटारको बस्तीदेखि करिव ३ सय मिटर दक्षिणबाट पक्की पुलहुँदै गाडीहरु आठराई क्षेत्र गुड्न थाले । अब पहिला पाँचथर र तेह्रथुम पैदल हिड्ने बटुवाहरु गाडीकै बाटो यात्रा गर्न थालिसकेका छन्। जसकै कारण बिगतमा भिडभाड हुने माझीटार अहिले सुनासान छ । यसको ऐतिहासिकताको संरक्षण गर्न कसैले चासो दिएको पाइन्न ।

फिदिम- ४ का वडा अध्यक्ष उपेन्द्र लावती माझीटारको पहिचान र माझीहरुको संरक्षणमा वडाले योजनाहरु ल्याएमा सहयोग गर्ने बताउँछन्। माझीटारमै भेटिएका वडाअध्क्ष लावतीले भने, ‘अब रिसोर्टहरु खोल्ने पर्यटक भित्र्याने योजना बनाउन सकेमात्र माझीटारको संरक्षण गर्न सम्भव छ ।’ इतिहास संरक्षण गर्न कस्तो योजना बनाउने र के गर्ने भन्नेमा माझीहरु जानकार छैनन्।

केही नगन्य संख्यामा एसएलसी उतीर्ण गरेका माझी युवाहरु गुजाराका लागि सडक मजदूरदेखि बैदेशिक रोजगारीमा गएका छन् । जसका कारण चर्चा र पहिचान बोकेको माझी बस्ती अहिले गुमनाम प्राय छ ।

सुनसान माझीटारमा केही घरमा होटल र किराना पसल देख्न पाइन्छ । तर, ब्यापार भने शुन्य प्रायः छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *