गर्मीले सप्तरीको जनजीवन कष्टकर, सामुदायिक विद्यालय एक महिना बिदा

डिसी नेपाल
३० असार २०७९ १६:५८
104
Shares

सप्तरी । एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्ने, हावा नचल्ने भएपछि सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो । यहाँको तापक्रम लगातार तीन दिनदेखि ३६ डिग्री सेन्टिग्रेट छ ।

गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, दीर्घरोगी बढी प्रभावित भएका छन् । दिनहुँ साइकलमा राजविराज बजारमा घुमेर कपडा बेच्दै आएका कुनौलीका ५० वर्षीय मोहम्मद रहमान गर्मीकै कारण काममा जान सकिरहेका छैनन् । काम नगर्दा घर चलाउन समेत समस्या भएको उनले बताए ।

उनी भन्छन्,’गर्मीले घरभित्रै त बसी सक्नु छैन् । घाँममा डुलेर कसरी कपडा बेच्नु ? जीविकोपार्जन गर्ने घौ धौ भइसक्यो ।’

राजविराज नगरपालिका वडा- १ की दुर्गादेवी रजक अर्काको घरमा काम गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । तर, गर्मीका कारण एक सातादेखि उनी काममा जान सकेकी छैनन् । उनी भन्छिन्,’बिहान ६ बजेदेखि पोल्ने घाम लाग्छ । घरबाट निस्किन सकिँदैन, कसरी काम गर्नु ? दुई छाक टार्न एकदमै मुस्किल भए पनि पहिले ज्यान अनि जाहान भनेर बसिरहेका छौ‌ं।’

गर्मीले सबैलाई काम गर्न समस्या भइरहेको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताए । उनले भने, ‘गर्मीका कारण ज्यानले काम गर्नै मान्दैन् । शरीरले सके न काम गर्ने हो ।’

कलबाट भरेर जग वा जुन भाँडोमा राखे पनि आधाघण्टामै तातो हुने गरेको राजविराज- २ की ५० वर्षीया लिलादेवी मण्डलले बताइन् । उनले भनिन्,’पहिले पहिले गर्मी लाग्दा कोठाको भुईमा सिमेन्टमा सुत्थेँ । अहिले त भुई पनि तातेको छ । कसरी सुत्ने ? मनमा भित्रबाटै बिरामी जस्तो महसुस हुन्छ।’

गर्मीकै कारण विद्यार्थीहरू विद्यालय बेहोश पर्न थालेपछि राजविराज नगरपालिकाको सामुदायिक विद्यालयहरू २८ असारदेखि २८ साउनसम्म एक महिनाका लागि बन्द भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.