हतियार बोकेर बंगलादेश जाँदै गरेको युक्रेनी विमान दुर्घटना, आठ जनाको मृत्यु, ११ टन हतियार थियो

डिसी नेपाल
२ साउन २०७९ ११:१९
4.7k
Shares

काठमाडौं । सर्बियाबाट हतियार बोकेर बंगलादेश जाँदै गरेको युक्रेनी कार्गो विमान शनिबार दुर्घटना भएको छ । आगोले जलेको विमान उत्तरी ग्रीसमा खसेको थियो ।

यस दुर्घटनामा चालक दलका सबै सदस्यको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार विमानमा आगो लागेको थियो र कावला सहर नजिकैको मकै खेतमा खसेको थियो ।

स्थानीय समय अनुसार राति १२ बजे विमान यहाँ खसेको थियो । ग्रीस र सर्बियाका अधिकारीहरूले दुर्घटनाको पुष्टि गरेका छन्।

विमान खस्नुअघि पाइलटले कन्ट्रोल रुमलाई इन्जिनमा खराबी भएको जानकारी दिएका थिए । पाइलटले विमानको आकस्मिक अवतरणका लागि अनुमति मागेका थिए ।

ड्रोनबाट खिचिएको तस्विरमा घटनास्थलबाट धुवाँ निस्किरहेको देख्न सकिन्छ । एन्टोनोभ-१२ विमानका टुक्राहरू घटनास्थलको नजिकै छरिएका थिए।

सर्बियाका रक्षामन्त्री नेबोसा स्टेफानोभिकले सर्बियामा बनेका ११ टन हतियार यस विमानबाट बंगलादेश लगिएको बीबीसीलाई बताएका छन् ।

सर्बियाई हतियार कम्पनीका निर्देशक भ्यालियरले बीबीसीलाई विमानमा ल्यान्डमाइन रहेको बताए।

तर, बंगलादेशी सेनाको जनसम्पर्क कार्यालय (आइएसपीआर) ले यो ढुवानीमा कुनै हतियार नभएको दाबी गरेको छ ।

आईएसपीआरका अनुसार कार्गो विमानले बंगलादेश सेना र सीमा गार्डहरूको प्रशिक्षणका लागि सर्बियाबाट ल्याइएको मोर्टार गोलाहरू बोकेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *