रनिल विक्रमासिंघे राष्ट्रपति निर्वाचित

डिसी नेपाल
४ साउन २०७९ १३:३०
40
Shares

काठमाडौं । श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिंघेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन् ।

कुल २२३ सांसदले मतदान गरेका छन् भने २ सांसद मतदानमा अनुपस्थित छन् । २२३ मतमध्ये २१९ मत वैध मानिएको छ भने चार मत बदर भएको छ ।

राष्ट्रपति निर्वाचनमा विजयी भएपछि संसदलाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै दललाई मिलेर काम गर्न अपिल गर्दै श्रीलंकालाई यो संकटबाट बाहिर निकाल्न आग्रह गरेका छन् ।

यसैबीच उनले बिहीबार सबै दलसँग बसेर वार्ता गर्ने बताए । गोटाबाया राजपाक्षेले श्रीलंकाबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो।

रनिल विक्रमासिंघेको कार्यकाल नोभेम्बर २०२४ मा समाप्त हुनेछ। उनले गोटाबाया राजपाक्षेको बाँकी कार्यकाल पूरा गर्नेछन् ।

जुलाई १३ मा श्रीलंकाका राष्ट्रपति गोटाबाया देश छाडेर माल्दिभ्सपछि सिंगापुर गएका थिए । त्यसपछि राष्ट्रपतिको जिम्मेवारी रनिल विक्रमासिंघेले पाए । अब संसदले पनि उनलाई राष्ट्रपतिमा अनुमोदन गरेको छ ।

यसअघि गोटाबायाका भाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्रीको कुर्सी छोडेका थिए र त्यसपछि उनी कहाँ बेपत्ता छन् भन्ने आधिकारिक जानकारी छैन। गत साता शनिबार श्रीलंकाका सर्वसाधारणले राष्ट्रपति भवनमा हमला गरी कब्जामा लिएका थिए ।

तर, नवनिर्वाचित रनिल विक्रमासिङ्घे पनि श्रीलंकामा अलोकप्रिय छन् र उनी प्रधानमन्त्री रहँदा उनको निजी निवासमा पनि आक्रोशित भीडले आगजनी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *