टर्कीका राष्ट्रपति एर्दोगानको भ्रमणलाई इरानले किन यति धेरै महत्व दिएको छ ?
काठमाडौं । रुस र टर्कीका राष्ट्रपतिहरू जुलाई १९ मा इरानको राजधानी तेहरान पुगेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले तेहरानमा इरानी राष्ट्रपति इब्राहिम रायसी र यसका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसँग भेटवार्ता गरेका छन् । इरानले एर्दोगानको भ्रमणलाई निकै महत्व दिएको छ ।
मंगलबार टर्की र इरानबीच भएको ग्यास आपूर्ति सम्झौतालाई आगामी २५ वर्षका लागि लम्ब्याइएको छ । यसबाहेक दुवै देशले द्विपक्षीय व्यापारलाई ३० अर्ब डलरमा पुर्याउने लक्ष्य राखेका छन् ।
इरानी राष्ट्रपति इब्राहिम रायसीले पनि एर्दोगान र उनको साथमा रहेको प्रतिनिधिमण्डललाई भेटेका थिए । त्यसपछि दुवै नेताले पत्रकार सम्मेलन गरेका थिए ।
इरान–टर्कीबीचको व्यापार र आर्थिक सम्बन्ध पर्याप्त नभएको रायसीले बताए । इरानी राष्ट्रपतिले दुई देशबीचको यो सम्बन्धलाई अझ अगाडि बढाउन आवश्यक रहेको बताए । रायसीले ३० अर्ब डलरको द्विपक्षीय व्यापारको लक्ष्य सजिलै हासिल गर्न सकिने बताए ।
टर्कीको समाचार एजेन्सी अनादोलुका अनुसार दुई राष्ट्रपतिले आठ वटा सम्झौतामा हस्ताक्षर गरेका छन् । यी सम्झौताहरूमा बृहत् र दीर्घकालीन सहयोग, रोडियो टेलिभिजनमा साझेदारी र दुई देशका सरकारहरूबीच आपसी सहयोग अभिवृद्धि गर्ने वार्ता समावेश छन्।
गत वर्ष इरानमा नयाँ सरकार गठन भएपछि टर्कीका राष्ट्रपतिको यो पहिलो भ्रमण हो । यसअघि एर्दोगान र रायसीबीच गत वर्ष नोभेम्बरमा तुर्कमेनिस्तानमा भेट भएको थियो ।
एर्दोगानले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसँग पनि भेट गरेका छन् । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रतिबन्धपछि सन् २०१८ मा दुई देशबीच ३० अर्ब डलरको द्विपक्षीय व्यापारको लक्ष्य तय गरिएको थियो ।
रायसीले दुई देशबीच औद्योगिक सहर, विज्ञान तथा प्रविधि पार्क निर्माणका लागि पनि वार्ता भएको बताउनुभयो ।इरानी राष्ट्रपतिले दुई देशबीच सुरक्षा सहयोगका लागि पनि सहमति भएको बताए ।







डिसी नेपाल







Facebook Comment