बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

डिसी नेपाल
१२ साउन २०७९ १०:३६
116
Shares

गलेश्वर। म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ।

यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो। स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याइ सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधेखोलामा आएको बाढीले क्षति पु¥याएको हो।

बगरफाँटमा पुनः खानेपानीको हाहाकार भएको छ । दुई सय आठ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ। यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी पिउन बाध्य भएको स्थानीय ओमकुमारी शर्माले बताए।

दुई सय १४ घरधुरी रहेको बगरफाँटमा नौ दिनदेखि खानेपानीको समस्या भएको छ। विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो। रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको हो।

यस वर्ष पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका हेरालु हरि कार्कीले बताए। वर्षा रोकिएपछि मात्र मर्मत कार्य अघि बढाइने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.