बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

डिसी नेपाल
१२ साउन २०७९ १०:३६
116
Shares

गलेश्वर। म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ।

यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो। स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याइ सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधेखोलामा आएको बाढीले क्षति पु¥याएको हो।

बगरफाँटमा पुनः खानेपानीको हाहाकार भएको छ । दुई सय आठ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ। यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी पिउन बाध्य भएको स्थानीय ओमकुमारी शर्माले बताए।

दुई सय १४ घरधुरी रहेको बगरफाँटमा नौ दिनदेखि खानेपानीको समस्या भएको छ। विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो। रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको हो।

यस वर्ष पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका हेरालु हरि कार्कीले बताए। वर्षा रोकिएपछि मात्र मर्मत कार्य अघि बढाइने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *