धनकुटा बजारमा ग्यास अभाव : प्रशासन र प्रहरीद्वारा डिलरहरूको छड्के अनुगमन

डिसी नेपाल
२४ साउन २०८३ १९:५४
धनकुटा। धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन सुरु गरेको छ।
धनकुटा बजारमा केही दिनयता खाना पकाउने ग्यासको अभाव सुरु भएपछि प्रशासन र प्रहरीले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीसहितको टोलीले धनकुटा बजारका ग्यास डिलरको अनुगमन गरेको हो। अनुगमनका क्रममा डिलरमा ग्यासको मौज्दात कम रहेको पाइएको र डिलर सञ्चालकले कम्पनीबाटै आवश्यकताअनुसार ग्यास नआएको सहायक प्रजिअ  न्यौपानेले जानकारी दिए।
ग्यासको अभाव हुने हल्ला भएपछि उपभोक्ताले  आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेका कारण बजारमा थप अभाव भएको पाइएको उनले बताए। अनुगमनका क्रममा प्रशासनले एउटा परिवारलाई एकपटकमा एउटा मात्रै ग्यास सिलिन्डर उपलब्ध गराउन डिलर सञ्चालकहरुलाई निर्देशन दिएको छ। ग्यास पुन डिलरमा आएपछि प्रशासनलाई जानकारी गराउन, प्राप्त ग्यासको परिमाणको विवरण बुझाउन र उपभोक्तालाई समानुपातिक रुपमा वितरण गर्न डिलरलाई निर्देशन दिइएको सहायक प्रजिअ न्यौपानेले बताए।
डिलरबाट सहज रुपमा ग्यास उपलब्ध नभएपछि उपभोक्ताले किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास खरिद गर्नुपरेको गुनासो आएको उनको भनाइ छ। त्यसपछि प्रशासनले आधिकारिक डिलर तथा बिक्री केन्द्रबाट मात्रै ग्यास बिक्री गर्न निर्देशन दिएको हो। बजारमा ग्यासको आपूर्ति र वितरण अवस्थाबारे अनुगमनलाई निरन्तरता दिने स्थानीय प्रशासनले जनाएको छ।
डिलर सञ्चालकहरुका अनुसार कम्पनीबाट कम परिमाणमा ग्यास आउने र आएको ग्यासले सबै उपभोक्ताको माग धान्न नसक्दा समस्या भएको हो। कम्पनीले पठाएको परिमाणअनुसार ग्यास ल्याएर बिक्री गरिरहेको तर, केही डिलरले पर्याप्त ग्यास ल्याउन नसक्दा बजारमा अभाव देखिएको कोसी ग्यास डिलर गुठीटारका सञ्चालक लेखबहादुर राई बताउँछन्।
यस्तै रिजाल ग्यासका बिक्रेता अधिकारी ट्रेडर्स देब्रेबासका सञ्चालक होमप्रसाद अधिकारीले पनि कम्पनीबाटै मागअनुसार ग्यास नआएका कारण समस्या भएको बताए। उनका अनुसार कम परिमाणमा ग्यास आउने र उपभोक्ताको माग बढी हुँदा आएको ग्यासले सबैलाई पुर्‍याउन कठिन भएको छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *