भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

डिसी नेपाल
२४ साउन २०८३ २०:०२

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका-९ का बासिन्दालाई हरेक वर्ष सास्ती दिँदै आएको भक्ताखोलालाई नयाँ निकास दिएपछि डुबानको त्रास हटेको छ।

‘असार-साउन सुरु हुनासाथ भक्ताखोलामा आउने बाढीले उठिबास लगाउने चिन्ताले सताउँथ्यो। तर, यो वर्षको वर्षायाम भने ढकेरीबासीका लागि फरक हुने भएको छ’, ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले भने ‘दशकौँदेखि स्थानीयलाई सास्ती दिँदै आएको भक्ताखोलालाई अन्ततः इञ्जिनियरिङ र बलियो स्थानीय इच्छाशक्तिको बलमा बस्तीभन्दा टाढा, जङ्गल क्षेत्रमा थुनेर नयाँ निकास दिएपछि डुबानको त्रास हटेको छ।’

राप्ती सोनारी-९ का गुरुवागाउँ, खड्काटोल, पहाडीपूर्वा, थारुगाउँ, ढकेरी र पम्पबजारलाई प्रत्येक वर्ष कटान र डुबान गर्दै आएको भक्ताखोलाले अब समस्या नदिने बताउँदै खनालले दशकौँदेखिको स्थानीयवासीको चाहना र आवश्यकता अहिले पूरा भएको उल्लेख गरे।

विगतका वर्षहरूमा गाउँ पसेर उपद्रो मच्चाउने बाढीलाई गाउँ पस्नै नदिन बस्तीभन्दा धेरै पर जङ्गल क्षेत्रबाट तटबन्धन गरेर मोडिएको राप्ती सोनारी गाउँपालिका-९ का वडाध्यक्ष सोहनलाल थारुले बताए।

‘प्रत्येक वर्षायाममा ठूलो पानी पर्नासाथ भक्ताखोलामा आउने बाढीले वडाका गाउँबस्तीमा डुबान तथा कटान गर्ने समस्या थियो। यो समस्या समाधान गर्न हामीले खोलालाई तटबन्धन गर्न सफल भएका छौँ’, वडाध्यक्ष थारुले भने, ‘अब वर्षायाममा भक्ताखोलाको बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या पूर्ण रूपमा हटेको छ।’

लुम्बिनी प्रदेश सरकारको रु ५५ लाख लागतमा गुरुवागाउँ नजिकै रहेको आँपखोली सामुदायिक वनस्थित चुरे पहाडलाई कटान गरी भक्ताखोलालाई वन क्षेत्रबाटै वसन्ता खोलामा मिसाइएको छ। यो तटबन्धनपछि अब वर्षायाममा भक्ताखोला र चुके नाला हुँदै आउने बाढी बस्तीभन्दा बाहिरै वसन्ता खोला भएर बग्ने छ, जसका कारण आधा दर्जन गाउँ सुरक्षित भएका छन्।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भक्ताखोलाले दिँदै आएको दुःखबाट अब जनताले सधैँका लागि छुटकारा पाएका दाबी गरे। भक्ताखोलाको यो सफल प्रयोग गाउँपालिकाका अन्य वडाहरूका लागिसमेत एउटा ढाँचा बन्न सक्ने उनले बताए। चुरेको फेदीमा रहेका बस्तीका लागि भक्ताखोलाको यो डाइभर्सन तथा तटबन्धन आयोजना विकास र विपद् व्यवस्थापनको एउटा सकारात्मक उदाहरण बनेको उनले उल्लेख गरे।

‘राप्ती सोनारी गाउँपालिकामा भक्ताखोलाजस्तै दर्जनौँ खहरेखोलाहरू छन्, जसले हरेक वर्ष गाउँबस्ती डुबानमा पार्ने गरेका छन्’, अध्यक्ष पौडेलले भने, ‘ती सबै खहरेखोलाको दीर्घकालीन समाधानका लागिसमेत हामीले पहल सुरु गरिसकेका छौँ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *