सिद्धार्थ बैंकको खुद नाफा बढेसँगै बढ्यो प्रति सेयर आम्दानी, वितरण योग्य नाफा कति ?
काठमाडौँ। सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १२.७८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष बढाएर ३ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १० करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १३.१६ प्रतिशतले बढेको छ। बैंकको ७ अर्ब ३ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ५१ करोड रुपैयाँमा सीमित थियो। यस्तै, सञ्चालन नाफा ४ अर्ब १६ करोड रुपैयाँबाट बढाएर ४ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको छ
यो चौथो त्रैमाससम्ममा बैंकले १ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। हाल १२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ७८ करोड रुपैयाँ रहेको छ।
बैंकको खुद नाफा बढेसँगै प्रति सेयर आम्दानी पनि वृद्धि भएको छ। बैंकको प्रति सेयर आम्दानी २ रुपैयाँ ९२ पैसाले बढेर २५ रुपैयाँ ७१ पैसा पुगेको छ। अघिल्लो वर्ष बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ ७९ पैसा रहेको थियो। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ११.१९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७४.९८ रुपैयाँ रहेको छ।
Facebook Comment