अब फेरि चल्ने भयो हेटौँडा कपडा उद्योग! दुई महिनाभित्र परीक्षण उत्पादन

डिसी नेपाल
३० असार २०८३ ८:२०

काठमाडौँ। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारीले तीव्रता पाएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने प्रक्रिया अघि बढाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको हो। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनका लागि हालसम्म भएका प्रगति, चालिएका कदम तथा आगामी कार्ययोजनासहितको प्रतिवेदन पेस गरेको मन्त्रालयले जनाएको छ।

प्रतिवेदनअनुसार उद्योगको परीक्षण सञ्चालनका लागि आवश्यक तयारी यसअघि नै सुरु भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनहरूको मर्मत तथा परीक्षण उत्पादनको तयारी अघि बढाइसकेको छ। सरकारले दिएको निर्देशनअनुसार आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य निर्धारण गरिएको छ।

उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। उक्त बजेट परीक्षण उत्पादनका लागि आवश्यक प्रारम्भिक कार्य सञ्चालनमा खर्च गरिने जनाइएको छ।

उद्योग सञ्चालनको जिम्मेवारी पाएसँगै नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा परिचालन भएको छ। टोलीले उद्योगभित्र सरसफाइको काम तीव्र पारेको, परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गरिसकेको तथा उद्योगमा रहेका पुराना मेसिनहरूको मर्मत कार्य सुरु गरिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयसमक्ष ५० लाख रुपैयाँको लागत अनुमान पेस गरिएको छ। सोही आधारमा मन्त्रालयले उद्योगका भवन तथा अन्य संरचनाको मर्मत गर्ने जिम्मेवारी लिएको छ। उद्योगभित्रको विद्युत् प्रणाली मर्मत गर्ने कार्य भने हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ, र उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् मर्मत कार्य सम्पन्न भइसकेको जनाइएको छ।

प्रतिवेदनमा तत्कालका लागि उद्योगमा रहेका पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गरिने उल्लेख छ। परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिनेछ। त्यसपछि आवश्यक कानुनी तथा नीतिगत निर्णय गर्दै उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने सरकारी योजना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। उनले कार्यदलले दिएका सुझावका आधारमा निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय, सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

एक समय स्वदेशी कपडा उत्पादनको प्रमुख केन्द्रका रूपमा परिचित हेटौँडा कपडा उद्योग लामो समयदेखि बन्द रहँदा सयौँ श्रमिक रोजगारीबाट वञ्चित भएका थिए। उद्योग पुनः सञ्चालनको सरकारी पहल सफल भएमा स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *