प्रदेश नं १ मा रोपाइँ ७७ प्रतिशत मात्र

डिसी नेपाल
१९ साउन २०७९ २१:१८

विराटनगर । प्रदेश नं १ मा हालसम्ममा ७७ दशमलव ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गएको वर्षमा आजको मितिसम्ममा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गएको असार १५ गतेसम्म प्रदेशभरिमा १३ प्रतिशत रोपाइँ भएको थियो ।

कुल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गा धान लगाउने क्षेत्रमा अहिलेसम्ममा दुई लाख ६५ हजार ३६९ हेक्टर जग्गामा रोपाइँ भएको छ । मौसमको अनुकुलता रहेमा रोपाइँ क्षेत्रफल बढ्न सक्ने निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन् ।

प्रदेश नं १ को उच्च पहाडी चार जिल्लामा १५ हजार ८०५ हेक्टर, मध्यपहाडको सात जिल्लामा ६७ हजार २९९ हेक्टर र तराईका तीन जिल्लामा एक लाख ८२ हजार २६५ हेक्टर जग्गामा धान रोपाइँ सम्पन्न भएको छ । मुख्यबालीको रुपमा रहेको धान लगाउने बेलामा किसानले सहज रुपमा रासायनिक मल प्राप्त गर्न नसकेको अवस्थामा आगामी दिन यो अवस्था सिर्जना हुन नदिन सरकारले समयमै मल आपूर्तिको व्यवस्था गर्नुपर्ने प्रदेशसभा सदस्य चुमनारायण तवदारले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *