विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

डिसी नेपाल
२० साउन २०७९ १४:५१

काठमाडौँ। सुर्खेत, मकवानपुर, कञ्चनपुर र तनहुँबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ गुरुङचोकबाट करिब २ सय ७० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने दैलेख नौमुले गाउँपालिका–२ घर भएका २२ वर्षीय जिबन कुमार सिंह र उनकै श्रीमती २० वर्षीया बिमला बुढा क्षेत्री रहेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको लागूऔषध ब्युरो, प्रदेश लागूऔषध ब्यूरो शाखा र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ कमानेभोर्ले बस्ने ५६ वर्षीय मंगलसिंह भोम्जन र २९ वर्षीय कृष्ण थिङलाई करिब ४ केजी ५ सय ग्राम गाँजासहित बिहीबार प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट हरियाली र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा मंगलसिहं भोम्जनको घरबाट करिब ४ किलो र कृष्ण थिङको घरबाट करिब ५ सय ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ प्रेमनगरबाट करिब १४ ग्राम ७५ मिलिग्राम खैरो हेरोइन सहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा अछाम साफेबगर नगरपालिका–७ रिडिकोट बस्ने २२ वर्षीय दिपेन्द्र केसी र कञ्चनपुर कृष्णपुर नगरपालिका–४ गुलरीया बस्ने २४ वर्षीय गणेश भण्डारी रहेका छन्।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरु सवार मोटरसाइकलको सिटकभरभित्र उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

तनहुँको सुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट करिब दुई केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–६ गोगने ककनी घर भई हाल कास्की पोखरा महानगरपालिका–६ लेक साईड बस्ने २८ वर्षीय विश्व कार्की रहेका छन्। उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ३८७३ नम्बरको माईक्रो बसलाई प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबसमा सवार कार्कीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *