धादिङ अस्पतालले सुरु गर्‍यो हेमो डायलायसिस सेवा

डिसी नेपाल
२१ साउन २०७९ २२:५९

धादिङ । धादिङ अस्पतालले आजदेखि हेमो डायलायसिस सेवा सुरु गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङ अस्पतालमा निर्माण गरिएको हेमो डायलायसिस सेवा सुरु गर्दै प्रदेश सरकारले यस सेवालाई निरन्तरता दिन सहयोग गर्ने बताए ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा हेमो डायलायसिसकक्ष र सघन उपचारकक्षको निर्माण सम्पन्न गरेपछि सेवा सञ्चालनमा ल्याएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले बताए ।

एकै पटकमा चार जनाको डायलायसिस गर्न सकिने भौतिक संरचना बनाएको छ । सघन उपचारकक्ष पनि साथमै तयार गरिएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत धादिङ, नुवाकोट, सिन्धुलीमा समेत डायलायसिस सेवा सञ्चालन गर्ने गरी काम भएको छ ।

जिल्लामै डायलायसिस सेवा सञ्चालन भएपछि नियमित डायलायसिस गराइरहेका दुई सय जनाले जिल्लामै सेवा पाउने भएका छन् । धादिङमा सञ्चालनमा आएको डायलायसिस सेवा नियमित सञ्चालन गर्न कर्मचारी अभाव भए पनि हप्तामा एक दिन सञ्चालन गरिने मेडिकल सुपरिटेण्डेन्ट डा दाहालले बताए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य डा रामकुमार अधिकारीलगायतले सम्बोधन गर्दै धादिङ अस्पतालको गुणस्तर बढ्दै गएकामा प्रशंसा गरे । पच्चीस शय्याको उक्त अस्पताल हालै ७५ शय्यामा स्तरोन्नति भई सञ्चालनमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *