सामुदायिक वन पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै, स्थानीयबासी उद्यमशीलतातर्फ जुट्दै

डिसी नेपाल
२२ साउन २०७९ ०:००

पोखरा । सामुदायिक वनमा आयआर्जनको मुख्य स्रोत काठको विकल्प खोज्न थालिएको छ । प्राकृतिक स्रोत काठ निकासीमा झन्झटिलो कानूनी व्यवस्था भएका कारण उपभोक्ता समूहले आम्दानीका लागि वैकल्पिक बाटो अपनाउन थालेका हुन् ।

लामो समयदेखि वनको संरक्षण, संवद्र्धन र उपयोग गर्दै आएका सामुदायिक वनका उपभोक्ता समूहले सम्भाव्यता अध्ययनका आधारमा पर्या–पर्यटन तथा उद्यमशीलताको विकाससँगै आयआर्जमा जोड दिन थालेका हुन् । सेती नदीको किनारस्थित भिरालो पाखोमा पोखरा महानगरपालिका–१७ रातोपैह्रा सामुदायिक वन समूहले पनि त्यस्तै बाटो अपनाउँदै पर्या–पर्यटन प्रवद्र्धनसँगै रोजगार सिर्जना गर्ने उद्देश्यका साथ वन क्षेत्रमा सुविधा सम्पन्न पदमार्ग निर्माण कार्य सुरु गरेको छ ।

साढे दुई किलोमिटर लम्बाइको उक्त पदमार्ग निर्माणका लागि पोखरा महानगरपालिकाको वन तथा वातावरण महाशाखाको रु १० लाख र रु एक लाख ७५ हजार स्थानीय जनसहभागितामा तीन सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । बहुवर्षे योजनाका आधारमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको ओमकारेश्वर प्राकृतिक पुल ढुङ्गेसाँघु नामकरण गरिएको उक्त पदमार्गमा यात्रु सुरक्षाका लागि एकतर्फ फलामे रेलिङबारकोसमेत व्यवस्था गरिएको पदमार्ग निर्माण समितिका संयोजक टीकाबहादुर द्वारेले जानकारी दिए।

रातोपैह्रा सामुदायिक वन समूहका उपाध्यक्षसमेत रहेका द्वारेका अनुसार पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, प्राकृतिक पुल ढुङ्गेसाँघुलगायत विभिन्न धार्मिक क्षेत्रसहित वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालयसँग जोडिएको उक्त सामुदायिक वनको साढे १२ हेक्टर क्षेत्रफल छ ।

विसं २०४१ मा सरकारीस्तरबाट वृक्षरोपण गरी नर्सरी वनका रुपमा विकास गरिएको सो सामुदायिक वनमा उपभोक्ताको अथक प्रयासबाट हरियाली प्रवद्र्धन भएको छ । उनले भने, “पदमार्ग निर्माणसँगै पर्यटन प्रवद्र्धनका साथै यस क्षेत्रका बासिन्दाका लागि रोजगारसमेत सिर्जना हुने विश्वास छ ।”

पदमार्गअन्तर्गत चुन पोल्ने स्थानमा रहेको ठूलाठूला चट्टाने ओडारमा रेष्टुरेन्ट सञ्चालन गरिने र विशेष गरी प्राकृतिक पुल ढुङ्गेसाँघुको भूवनोटका बारेमा अध्ययन अवलोकन गर्न सहयोग पुग्ने संयोजक द्वारेको भनाइ छ ।

सामुदायिक वन समूहका सचिव विष्णुमाया थापाका अनुसार पदमार्ग निर्माणले यस क्षेत्रको थप पर्यटकीय गन्तव्यका रुपमा विकास हुनुका साथै उपभोक्तालाई वन पैदावार निकासीका साथै अग्निरेखाको समेत काम गर्नेछ । समूहको प्रयासमा विभिन्न समयमा रोपिएका बिरुवा हुर्केपछि वनको रुप लिएको उल्लेख गर्दै उनले भने, “वनमा बाँस, चाँप, लप्सी, उत्तिस, पाउलोनिया, रुद्राक्षलगायत प्राकृतिक बिरुवा हुर्केका छन् । सुरुको अवस्थामा रोपिएका सिसौका बोट भने अधिकांश सुकिसकेका छन् ।”

कास्कीका कतिपय सामुदायिक वन समूहले प्राकृतिक स्रोत पानीलाई शुद्धीकरण गरी बजारमा बिक्रीवितरण गर्दै आएका छन् । लप्सीको अचार बनाएर स्वदेश तथा विदेशमा स्वाद चखाउने, नगदेबाली अलैँची, कुरिलो, कफी, लगाएर वन संरक्षणसँगै मनग्य आर्यआर्जन गर्न थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *