आगामी निर्वाचनमा कहाँबाट चुनाव लड्दैछन् प्रचण्ड?

शरद रिजाल
२४ साउन २०७९ ७:५१

काठमाडौं। सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलका नेता कार्यकर्ता चुनाव केन्द्रित गतिबिधिमा सक्रिय भइसकेका छन्। शिर्ष नेताहरुको आफ्नो निर्वाचन क्षेत्र लगभग सबैको सुनिश्चित छ। कतिपयले चुनावी गतिबिधिमा सक्रियता बढाइरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र अझै अन्यौलपूर्ण रहेको छ।

२०६४ मा रोल्पा क्षेत्र नं २ र काठमाडौं १० बाट निर्वाचित भएका प्रचण्ड त्यस यता निरन्तर निर्वाचन क्षेत्र परिवर्तन गरिरहेका छन्। २०७० को निर्वाचनमा सिरहा क्षेत्र नं ५ र काठमाडौं १० मा उम्म्ोदवार भएका प्रचण्ड काठमाडौं १० मा कांग्रेसका राजन केसीसँग पराजित भएका थिए भने सिरहा ५ मा एमालेका लिलानाथ श्रेष्ठलाई पराजित गरेका थिए।

२०७४ को निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएर निर्वाचित भएका उनले निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेलाई ९ हजारको मतान्तरले पराजित गरेका थिए। फेरि चुनावको मिति घोषणा भएसँगै उनी सुरक्षित चुनावी क्षेत्रको खोजीमा दौडधुप गरेको चर्चा हुन थालेको छ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनको समयमा पार्टीको एक कार्यक्रममा कांग्रेसकै नेताले गठबन्धनको बिरोध गर्दा प्रचण्ड हार्ने चुनाव कहिल्यै नलड्ने सार्वजनिक अभिब्यक्ति दिएका थिए।

जसरी भए पनि निर्वाचनमा विजयी हुन प्रचण्ड उद्दत हुने प्रधानमन्त्री देउवाको भनाइ थियो। उनको अभिब्यक्ति कांग्रेसले माओवादीसँग गठबन्धन नगरे प्रचण्ड आफ्नो जित सुनिश्चित गर्न एमालेसँग बाम गठबन्धन गर्न पछि पर्दैनन् भन्ने देउवाको आशय थियो।

प्रचण्डले चितवनबाट उम्मेदवारी दिने बताइरहँदा गएको स्थानीय तहको निर्वाचनमा छोरी रेणुलाई जिताउन मुख्य भूमिका खेलेको चितवन कांग्रेस यो पटक फेरि प्रचण्डलाई जिताउनुपर्ने भन्दै पार्टीका शिर्ष नेतृत्वप्रति असन्तुष्टि प्रकट गरिरहेका छन्।

यसपालीको निर्वाचनमा चितवनबाट निर्वाचन लड्ने बताउँदै आउका प्रचण्डले आगामी निर्वाचन नजिकिँदै गर्दा पुनःनिर्वाचन क्षेत्र परिवर्तन गर्ने तयारीमा लागेको चर्चा हुन थालेको छ। गत निर्वाचनमा चितवनबाट बाम गठबन्धनको सहायतामा निर्वाचित प्रचण्ड यसपटक सिन्धुली या गोरखा जाने चर्चा चलेको छ। सिन्धुली माओवादीको बलियो पकड भएको जिल्ला मानिन्छ।

यस्तै गोरखा पनि माओवादीको सुरुवात देखि नै बलियो पकड भएको जिल्ला नै हो। तर, माओवादीका बरिष्ठ नेता बाबरराम भट्टराईले पार्टी परित्याग गरेसँगै माओवादीको केही जनमत बाबुरामको पक्षमा गएको थियो।

यद्यपि अहिलेको स्थानीय निर्वाचनमा माओवादीले उल्लेख्य मतले ११ मध्ये ९ स्थानीय तह जितेको छ। माओवादीले बाबुरामको प्रभावलाई कमजोर बनाएको दाबी गर्दै माओवादी गोरखामा पूर्ववत अबस्थामा फर्किएको बताएको छ।

शिर्ष नेताहरुको आफ्नो निर्वाचन क्षेत्र लगभग सबैको सुनिश्चित छ। कतिपयले चुनावी गतिबिधिमा सक्रियता बढाइरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र अझै अन्यौलपूर्ण रहेको छ।

माओवादीले जनयुद्ध सुरुवात गर्दा गोरखा, सिन्धुली, रुकुम र रोल्पालाई आधार क्षेत्र बनाएर युद्ध सुरु गरेको थियो। २०५२ साल फागुन १ गते युद्धको घोषणा गर्दा माओवादीले पहिलो छापामार कारबाही यिनै जिल्लाबाट सुरु गरेको हो।

त्यसको प्रभाव तुलनात्मक रुपमा अन्य जिल्लाको भन्दा यिनै जिल्लामा हालसम्म माओवादीको सांगठनिक अबस्था बलियो छ। गोरखामा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा अघिल्लो स्थानीय तहको निर्वाचनमा २ वटा स्थानीय तहमात्रै जितेको माओवादीले यसपटक ११ स्थानीय तहमध्ये ९ वटामा जित हासिल गरेको छ।

प्रचण्डले यसपाली सुरक्षित निर्वाचन क्षेत्र गोरखा रोज्न सक्ने राजनैतिक वृत्तमा चर्चा चलेको छ। गोरखा क्षेत्र नं १ बाट निर्वाचित माओवादी सांसद हरिराज अधिकारीले प्रचण्डलाई गोरखाबाट चुनाव लड्न सार्वजनिक रुपमा आग्रह गरेका छन्। केही दिन पहिले उनले जनयुद्धको उद्गम थलो गोरखाका जनताले जनयुद्धका नेतृत्व प्रचण्डलाई जिताउन चाहेको बताएका थिए।

प्रचण्डलाई गोरखा कति सुरक्षित ?

केही दिन पहिले एक टेलिभिजन अन्तर्वार्तामा चुनावमा टिकटको बिषयमा प्रश्न गर्दा गोरखाकै माओवादी नेता लेखनाथ न्यौपानेल गोरखामा यसपटक स्थानीय तहमा माओवादीले राम्रो स्थान ल्याएको देखेर कतिपयलाई गोरखा गए जितिन्छ कि भन्ने लागेको बताएका थिए।उनको आशय प्रचण्डतर्फ नै केन्द्रित रहेको प्रष्ट बुझिन्छ।

गत निर्वाचनमा २ वटा संघीय निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नं १ बाट माओवादीका हरिराज अधिकारी निर्वाचित भएका थिए भने २ बाट तत्कालीन नयाँ शक्तिका बाबुराम भट्टराई कांग्रेससहितको गठबन्धनबाट निर्वाचित भएका उनले माओवादीका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका हुन्।

अहिलेको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतपरिणामको आधारमा हेर्ने हो भने गोरखा १ मा माओवादीको जम्मा मत २५,४६७ रहेको छ। का्रग्रेसको माओवादीको भन्दा २ हजारले बढी छ। कांग्रेसको मत २७ हजार ८४ छ। कांग्रेस र माओवादी मिल्दा एमालेको भन्दा लगभग दोब्बर हुने देखिन्छ। यस क्षेत्रमा एमालेको मत कांग्रेस एमाले भन्दा निकै पछाडि छ ।

उसको मत भार १४, ५६६ रहेको छ। बाबुरामको जसपाको मत जम्मा २७५४ रहेको छ। यस्तै बाबुराम भट्टराई निर्वाचित गोरखा क्षेत्र नं २ मा माओवादीको मत २२ हजार २५०, कांग्रेसको २१ हजार १३६, एमालेको ७ हजार ९३६ हुँदा जसपाको ७ हजार ५०४ रहेको छ।

यसर्थ स्थानीय निर्वाचनको मतपरिणामलाई आधार मान्दा बाम गठबन्धन हुँदा गठबन्धनको सहजै जित हुने देखिन्छ। तर क्षेत्र नं २ मा बाबुरामले वर्तमान सत्ता गठबन्धनका दलबाहेक एमालेसँग गठबन्धन गरेता पनि गठबन्धनलाई हराउने मत अहिलेको स्थानीय निर्वाचनको मतपरिणामले बाबुरामलाई देखिँदैन। प्रचण्ड यही बुझेर नै गोरखा जाने इच्छा प्रकट गरेको हुन सक्छ। यद्यपि बाबुरामलाई पार्टीगत भन्दा ब्यक्तिगत मत गोरखामा बढी आउने चर्चा हुने गर्दछ।

सिन्धुलीको चर्चा हल्ला मात्रै भएको दाबी

माओवादीको प्रभाव रहेको जिल्लामध्ये सिन्धुली पनि एक हो। माओवादी जनयुद्धकालमा समेत मजबुद संगठन रहेको सिन्धुलीमा हालसम्म माओवादीकै बलियो पकड रहेको छ।

बिगतदेखि नै क्षेत्र नं २ सिन्धुलीबाट माओवादी नेता हरिबोल गजुरेल निरन्तर निर्वाचित हुँदै आएका छन्। दुई संघीय निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा गत निर्वाचनमा क्षेत्र नं १ मा बाम गठबन्धन हुँदा एमालेका गणेश कुमार पहाडी निर्वाचित भएका हुन् भने २ बाट माओवादी केन्द्रका हरिबोल गजुरेल निर्वाचित भएका हुन्।

प्रचण्ड सिन्धुलीबाट चुनाव लड्ने चर्चा चलिरहँदा माओवादीका सिन्धुलीबाट निर्वाचित सांसद समेत रहेका प्रभावशाली नेता हरिवोल गजुरेल यस बिषयमा आफू अनविज्ञ रहेको बताउँछन्। उनले आफूलाई यस बिषयमा कुनै जानकारी नभउको बताउँदै बाहिर आएको चर्चा हल्ला मात्रै भएको बताए। पार्टी अध्यक्ष प्रचण्ड चितवनको पहिलेकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने उनले दाबी गरे।

‘औपचारिक छलफल भएको छैन, गोरखा सिन्धुली लगायतका हल्ला बाहिर आए जस्तो कुनै ठोस निष्कर्ष भएको होइन, ती सब अनुमान हुन्,’ उनले डिसी नेपालसँग भने, ‘मेरो यस बिषयमा अध्यक्षसँग कुनै कुराकानी नै भएको छैन। यदि त्यसो हो भने त उहाँले मलाई केही जानकारी गराउनुपर्ने यी सबै बजार हल्ला मात्र हुन् उहाँ साबिककै निर्वाचन क्षेत्रबाट नै चुनाव लड्नु हुन्छ।’

चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने माओवादीको निर्णय

प्रचण्डको गृह जिल्ला चितवनमा आइतबार बसेको माओवादी जिल्ला समितिको बैठकले प्रचण्डलाई क्षेत्र नं ३ बाटै उम्मेदवार बनाउने निर्णय गरेको छ। माओवादी केन्द्रको आइतबार बसेको जिल्ला कार्यालय समितिको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई निर्वाचन क्षेत्र नं ३ बाटै उम्मेदवार गराउने निर्णय गरेको हो।

चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार प्रचण्ड पहिलेकै निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचन लड्ने र अत्याधिक बहुमतले विजयी गराउने निर्णय जिल्ला समितिले गरेको छ।

अन्य जिल्लाबाट निर्वाचन लड्ने चर्चा हल्ला मात्रै भएको माओवादी चितवन संयोजक अधिकारीले बताए।
‘आइतबार बसेको हाम्रो जिल्ला कार्यालय समितिको बैठकले चितवनको निर्वाचन क्षेत्र नं ३ बाटै उम्मेदवारी दिएर विजयी बनाउने निर्णय गरेको छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *