हकवाला नभएको ३ करोडभन्दा बढीको जग्गा खान सेटिङ, फरक फरक पार्टीका जनप्रतिनिधि एकैठाउँ

डिसी नेपाल
२५ साउन २०७९ ११:३२

काठमाडौं। जग्गा धनी बेपत्ता भएको र हकवाला नभएको करोडौंको सम्पत्ति खान जनप्रतिनिधिहरु मिलेर सेटिङ मिलाएको खुलासा भएको छ । तानसेन नगरपालिका–९ दमकडास्थित ३ करोडभन्दा बढीको जमिन किर्ते नाता प्रमाणित गरी खान खोज्ने सेटिङको पर्दाफास भएको छ ।

हालैको स्थानीय निर्वाचनमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि पुराना जनप्रतिनिधिले सेटिङमा अगाडि बढाएको प्रक्रियाको पर्दाफास भएको हो । अहिलेको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले यो सेटिङको पर्दाफास गर्दै हकवाला नभएको जग्गाको अपुताली स्थानीय सरकारको नाममा हुने कानुनअनुसार प्रक्रिया अगाडि बढाएका छन् र मिलोमतोमा खान खोज्ने गिरोहको प्रयास असफल भएको छ ।

जग्गा तानसेन नगरपालिका वडा नम्बर ९ दमकडामा छ । यो जग्गा चन्द्रबहादुर घर्तीको नाममा दर्ता छ । चन्द्रबहादुरको नाममा दर्ता रहेको ५ रोपनी जग्गा माथागढी गाउँपालिका २ रुप्सेका सन्तविर घर्तीको नाममा नामसारी गर्न सेटिङ मिलाइएको थियो । जग्गाधनी चन्द्रबहादुर र सन्तवीर घर्ती बीच किर्ते नाता प्रमाणित गरी जग्गा चन्द्रवीरको नाममा नामसारी गर्न खोजिएको थियो ।

तानसेन ९ का चन्द्रबहादुरको जग्गा खानका लागि माथागढी २ रूप्सेका सन्तविर घर्तीलाई चन्द्रबहादुरको हकवाला प्रमाणित गर्न माथागढी २ रूप्सेका वडाध्यक्ष जनक रिजेल, गाउँपालिका अध्यक्ष सन्तोष थापा र तानसेन ९ का वडाअध्यक्ष हरिसुमर रेग्मीले किर्ते कागजात बनाउन सहयोग गरेको रहस्य खुलेको छ ।

चन्द्रबहादुर भीमबहादुर र मेखली घर्तीका एक मात्र सन्तान हुन् । बाबु भीमबहादुर घर्तीको २०२० सालमा मृत्यु भएपछि आमाले दोस्रो विवाह गरिन् । मेखली घर्तीको दोस्रो श्रीमान् मनवीर कुमालको २०५० साल अगाडि नै मृत्यु भयो भने आमाको ०६६ सालमा मृत्यु भयो । चन्द्रबहादुर विगत ४० वर्षदेखि बेपत्ता छन् ।

हकवाला कोही नभएपछि यत्तिकै रहेको जग्गामा किर्ते नाता प्रमाणित गर्ने गिरोहको नजर परेको थियो । ०३२ सालमा आएको नापीले उक्त जग्गा चन्द्रबहादुरको नाममा नाप जाँच गरेको थियो । चन्द्रबहादुर घर्तीको हकवाला छैनन् । यसैलाई अवसर बनाएर जग्गा खानको लागि चन्द्रबहादुरको कुनै तरिकाले हकवाला हुन नमिल्ने सन्तविर घर्तीलाई जनप्रतिनिधिको मिलेमतोमा किर्ते कागजात बनाएर हकवाला बनाउन खोजिएको थियो ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले जग्गा नामसारी हुने अन्तिम चरणमा पुर्याइसकेका थिए । तर, संयोगले यस पटक यो गिरोहमा संलग्न तीनै जना जनप्रतिनिधि बाहिरिए । जग्गा भएको तानसेन ९ का तत्कालीन वडाध्यक्ष हरिसुमर रेग्मीलाई नेकपा एमालेले यसपटक उम्मेदवार नै बनाएन । उनको ठाउँमा राजेशकुमार अर्याललाई उम्मेदवार बनाइयो र अर्यालले जिते । अर्याल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष समेत हुन् ।

उता माथागढी गाउँपालिकाका तत्कालीन अध्यक्ष सन्तोष थापा र वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष जनक रिजेललाई नेपाली कांग्रेसले यस पटक पनि दोहोर्याएर सोही पदमा उम्मेदवार बनाएको थियो । तर, दुवैले चुनाब हारे । मालपोत कार्यालयले यो जग्गाको लागि हकदावी सम्बन्धि सूचना प्रकाशित गर्दा सम्बन्धित तीनै जना जनप्रतिनिधि फेरिइसकेका थिए । सूचना देखेर नयाँ जनप्रतिनिधि झस्किए ।

जग्गा भएको तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेशकुमार अर्यालको घर उक्त जग्गाबाट केवल ५० मिटरजति दुरीमा छ । जग्गाधनी चन्द्रबहादुर बेपत्ता हुनुभन्दा पहिल्यैदेखि त्यो जग्गाको बारेमा जानकार अर्याललाई यो जग्गाको हकवाला नभएको थाहा थियो । सूचना देख्नासाथ उनले किर्ते हकवाला सिर्जना गरेर जग्गा खाने खेल भएको बुझिहाले । गिरोहले खान खोजेको जग्गा तानसेन नगरपालिका– ९ को मदनपोखरा स्वास्थ्यचौकीसँग जोडिएको छ ।

मालपोत कार्यालयको श्रेस्ताअनुसार ४ रोपनी, ५ आना, २ पैसा, ३ दामको जग्गा चलन चल्तीको मूल्यअनुसार ३ करोडभन्दा बढीमा बिक्री हुन्छ । विगतका जनप्रतिनिधिले अगाडि बढाएको प्रक्रिया सामाजिक न्याय र प्रलचन विपरीत भएकाले गल्ती कमी कमजोरीलाई सच्याउँदै नयाँ शिराबाट अगाडि बढाएको वडा कार्यालयको भनाइ छ ।

मौजुदा कानुनअनुसार कुनै व्यक्ति अपुताली परेको खण्डमा उसको सम्पत्ति स्थानीय सरकारको स्वामित्वमा रहने प्रावधानअनुसार आफ्नो स्वामित्वमा ल्याउने प्रक्रिया अगाडि बढाएको वडाध्यक्ष राजेशकुमार अर्यालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *