आर्दशका पात्र ‘बुवाको मुख हेर्ने’ दिन आज {भिडियो सहित}

डिसी नेपाल
११ भदौ २०७९ ७:०७
64
Shares

काठमाडौं । भनिन्छ, हरेक अपराध र गल्तिलाई माफ गर्ने मात्र एक ब्यक्ति हुन्, बुवा । हो, जसको रिसमा स्नेह र गालीमा आफ्नोपन हुन्छ, उहाँलाई बुवा भनिन्छ । बुवा सबैका आर्दशका पात्र हुन् । तिनै आदर्श पुरुष बुवाको मुख हेर्ने दिन आज सबै आफ्ना जन्म र कर्म दिने पितालाई सम्मान गरेर बुबाको मुख हेर्दै कुशे औंशी मनाइरहनु भएको होला ।

नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परा अनुसार भाद्र महिनाको अमावस्या अर्थात औंसी तिथिका दिन बुवाको मुख हेर्ने दिन मनाइन्छ । आजका दिन सबै छोरा छोरीले बुवालाइ शुभकामना भन्दै आफ्नो गच्छे अनुसारको मिष्ठान खुवाउने र लुगाफाटा वा अन्य उपहारहरु दिने चलन छ ।

मातृ देवो भव । पितृ देवो भव ।। गुरू देवो भव ।।। अर्थात आमा, बुवा, गुरु सबै भगवान् हुन् । आज बुबाको प्रसंग आउँदा बुबा भगवानको रुप हुन् भनिन्छ । कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन हो ।

विश्वका सबैभन्दा धनी मानिस पनि आमाबुवा बिना, गरीब हुने गर्दछ भन्ने गरिन्छ । भनिन्छ, एक बुवा सय सन्तानका पालनहार बन्न सक्छन्, तर सय सन्तान एक पिताको पालनकर्ता बन्न सक्दैनन् । जब बुवा सन्तानलाई केहि दिन्छन्, तब दुबै हाँस्दछन् । तर जब सन्तान बुवालाई केहि दिन्छन्, तब दुबै रुन्छन् । बुबाको आवश्यकता, महत्व र भुमिकाका बारेमा शब्दले बर्णन गरेरै सकिदैन ।

बुबाको मुख हेर्ने दिननै कुशे औंसी पर्दछ । कुशलाई नुहाउँदा, जप स्नान गर्दा, दान गर्दा, पाठ–पूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुपयोगी रुपमा प्रयोग गरिने भएकोले हिन्दु धर्मावलम्बीहरूले महत्व दिएर यो पर्व मनाउँछन् । वैदिक सनातन हिन्दु संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक महत्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्व समेत प्रमाणित भइसकेको छ । कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो ।

नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधी बनाइन्छ । कुशे औँसी अर्थात् आजको औंसी चन्द्रविनाको अँध्यारो रात, आजको दिन बिहानै कुशलाई घरमा भित्राइन्छ । कुशको महिमालाई श्रीमद्भागवत गीता, गरुड पुराण, अथर्व वेद र विष्णु पुराणमा समेत वर्णन गरिएको छ ।

आजको दिन कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिक पीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णु पादुका तथा सुनसरीको वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सीधा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन् ।

कुशे औंशी कै दिन उत्तर गया गोकर्णेश्वर धाम , पितृ तीर्थ धाममा विशेष घुइँचो रहन्छ । उत्तर गयाको यस स्थल विश्वभरिका सनातन दर्शनका अनुयायीहरूका लागि विशिष्ट तीर्थस्थल हो । विशेषतः पितृ उद्धारका लागि यस तीर्थस्थलको महत्व पौराणिक कालदेखि नै निकै छ । सनातन ग्रन्थहरूमा अनेक पटक उल्लेख गरिएको यस पवित्र स्थलमा कुशे औँसीका दिन पितृ उद्धारका लागि दर्शन गर्ने, दान पुण्य गर्ने, पितृ कर्म गर्ने र दर्शन मात्र गर्नेहरूको घुइँचो रहन्छ । आज गोकर्ण स्नान गरिनुलाई पवित्रता र पितृ स्नेहको समागमका रूपमा लिइन्छ ।

बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला ! जे होस् आमा–बुबा नै यस जगत का देख्न सकिने भगवान् हुन् । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौँ । अन्त्यमा डिसी नेपालको तर्फबाट कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको सम्पूण बुवाहरुमा धेरै धेरै शुभकामना ।’

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *