श्रीमानको दीर्घायुको कामना गर्दै मनाइँदै ‘तीज’ {भिडियोसहित}

डिसी नेपाल
१४ भदौ २०७९ ६:२६
404
Shares

काठमाडौं ।  तीज धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ।

तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले ‘देवाधिदेव महादेवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ। पार्वतीका बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन्।

आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजाआराधना गरेकी थिइन्। अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ। सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ।

यस दिन महिलाहरू आफ्नो शरीरको अवस्थाअनुसार निराहार, जलाहार व्रत बस्नुपर्ने मान्यता छ। तीजमा विवाहिता महिलाहरू आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी बर्त बस्छन ।

आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ।

यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीजपर्वको महत्त्व रहेको छ ।

तिजमा विषेश चेलीहरु जम्मा भएर माइती घरमा गएर गित गाएर, नाचेर रमाउने गर्छन् । भाद्र शुक्ल पक्ष द्वितियाको दिन बेलुका मिष्ठान्न भोजन दर खाने प्रचलन छ ।

बेलुकीको १२ वजे दरको रुपमा आडिलो भोजन खिर तथा अन्य मिष्ठान्न भोजन गर्ने परम्परा रहेको छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ ।

तीजको दिन महिलाहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन्। यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन्। बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ।

निर्जला बर्त भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन्। कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन्।

बर्तको समयमा महिलाहरूले तीजको बर्तकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला बर्तालुहरूको ठूलो भिड हुने गर्दछ ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.